काठमाडौं
आइपीएलको १६ औं म्याचमा सनराइजर्स हैदरावादले दिल्ली क्यापिटललाई पाँच विकेटले हराएको छ । १३० रनको लक्ष्यलाई हैदरावादले १८.३ ओभरमा हासिल गर्यो । दिल्लीविरुद्ध हैदरावादको लगातार तेस्रो जित हो । हैदरवादका लागि जोनी बेयरस्टोले सर्वाधिक ४८ रन बनाए । उनले २८ बलमा नौ चौका र एक छक्का प्रहार गरे । बेयरस्टोले डेभिड वार्नरसँग पहिलो विकेटका लागि ६४ रनको साझेदारी गरेर वार्नर १० रनमा आउट भए ।
मोहम्मद नबी नौ बलमा १७ रन बनाउँदै अविजित रहे । यस्तै विजय शंकरले १६ रन योगदान गरे। दिल्लीका लागि सन्दीप लामिछाने, अक्षर पटेल, कगिसो रबाडा, राहुल तेवतिया र इशान्त शर्माले एक-एक विकेट लिए ।
यसअघि दिल्लीले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १२९ रन बनाएको थियो । उसका लागि कप्तान श्रेयस अय्यरले सर्वाधिक ४३ रन बनाए । अक्षर पटेलले अन्तिम ओभरमा १३ बलमा २३ रन जोडे । उनले दुई छक्का प्रहार गरे । हैदरावादका लागि मोहम्मद नबी, कप्तान भुवनेश्वर कुमार र सिद्धार्थ कौलले दुई-दुई विकेट लिए ।
आजको खेलमा नेपाली लेग स्पीनर सन्दीप लामिछाने
आजको खेलमा नेपाली लेग स्पीनर सन्दीप लामिछानेले एक विकेट लिएका छन् । तुलनात्मक रुपमा हैदरावादविरुद्ध महंगो भएका सन्दीपले आफ्नो कोटाको अन्तिम बलमा दिपक हुड्डाको विकेट लिएपछि उनी विकेटबिहीन हुनबाट जोगिए ।
सन्दीपले बिहीबार दिल्लीका लागि पहिलो ओभरमै बलिंग गरेका थिए । सो ओभरमा ठिकठाक बलिंग गर्दै ६ रनमात्र दिएका उनले दोस्रो ओभरमा भने १३ रन दिन पुगे । तेस्रो बलमा ५ रन दिए । यस्तौ चौथो ओभरमा उनले एक विकेट लिँदा ८ रन दिए । उनले समग्रमा ४ ओभरमा ३२ रन दिएर १ विकेट लिए । सन्दीपको जारी आइपीएलका ३ खेलमा ४ विकेट लिएका छन् ।