काठमान्डौ
ट्राफिक प्रहरीले उपत्यकाको ट्राफिक सुधारका लागि विभिन्न निकायको सहकार्यमा उपत्यकाभित्रका सडकको फुटपाथ अतिक्रमण हटाउने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले भर्खरै लागू गरेको ‘ट्राफिक व्यवस्थापन तथा प्रदूषण नियन्त्रण सुधार कार्ययोजना–२०७५’ अन्तर्गत जथाभावी हुने सडक फुटपाथ अतिक्रमण हटाउने भएको हो ।
महाशाखाले विभिन्न निकायको सहकार्यमा उपत्यकाको पुरानो वानेश्वरदेखि सिनामङ्गलसम्म, पिङ्गलास्थानदेखि गौशाला चोकसम्म, कोटेश्वर वरीपरी, नयाँ बानेश्वरदेखि पुरानो बानेश्वरसम्म, त्रिपुरेश्वरदेखि कलङ्कीसम्म, चावहिलदेखि जोरपाटीसम्म, थापाथलीदेखि लगनखेलसम्मका फुटपाथ पसल तथा पार्किङ हटाउन लागेको हो ।
महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त, दुरुस्त बनाउन यही चैत २१ गतेदेखि नै उक्त अभियान सञ्चालन गरिएको जानकारी दिए ।
महाशाखाले उपत्यकाको ट्राफिक सुधारका लागि प्रदूषण नियन्त्रण गर्ने, करिडोर खोल्ने, जेब्राक्रसिङ र लेनलाई विशेष व्यवस्थापन गर्ने, बस पकेट नियमन गर्ने, आकाशे पुल निर्माण गर्ने, ट्राफिक भोलेन्टिर निर्माण गर्नेलगायत कार्ययोजना अगाडि सारेको छ ।