कर्णाली राजमार्गमा यात्रुहरु अलपत्र ,खान पिउन पनि समस्या

समाचार
शेयर गर्नु होला

सुर्खेत

शनिबार बेलुकाको भारी असिना वर्षाले आएको बाढी र पहिरोले कर्णाली राजमार्गका विभिन्न खण्ड अवरुद्ध भएको छ । दैलखको दुल्लु नगरपालिकामा र कालिकोटको शुभकालिका गाउँपालिकाको दहीखोलामा गएको पहिरोले दुई दिनदेखि यात्रु आवतजावतमा समस्या आएको हो ।

दैलेखबाट गएको जेसिबीले शनिबार दहीखोलाको पहिरो हटाउन सकेन । पहिरो हटाउन नसक्दा काठमाडौँ, नेपालगञ्ज र सुर्खेतबाट कर्णाली जाँदै गरेका यात्रुहरु दुई दिनदेखि अलपत्र परेका छन् । दहीखोलामा ठूलो पहिरो गएको र दैलेखबाट आएको सानो जेसिबीले अवरुद्ध बाटो खुलाउन नसक्दा यात्रुलाई असहज भएको जिल्ला प्रशासन कालिकोटले जानकारी दिएको छ ।

पानी बेलाबेलामा आईरहने र पहिरो पनि खसिरहने भएकाले बाटो खुलाउन समस्या भएको प्रजि चन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । “बाटो खुलाउन हामी निरन्तर लागिरहेका छौँ”, प्रजि कार्कीले भन्नुभयो, “यद्यपि जनशक्ति र साधनको अभाव छैन ।” सो स्थानमा स्काभेटर सञ्चालन गाह्रो भएको जनाइेको छ । उक्त पहिरोमा हिँडेर भए पनि जोखिमपूर्ण तरिकाले यात्रा पार गरिएको यात्रु हरिलाल शाहीले बताउनुभयो ।

पहिरो गएको ठाउँमा कुनै पनि घर पसल नहुँदा यात्रुलाई खानेपानी र खाजा नास्ता पाउन गाह्रो भएको उहाँको गुनासो थियो । गाडी चालकले यात्रुलाई पनि ठग्ने गरेको कुरा पनि त्यत्तिकै बाहिर आएको छ । सडक अवरुद्ध भएको ठाउँमा पसल नभएकाले चाउचाउ बिस्कुट किन्न दुई घण्टा हिँड्नुपर्ने बाध्यता रहेको यात्रु दलबहादुर थापाले दुखेसो गर्नुभयो ।

सडक डिभिजन कार्यालय जुम्लाले दहीखोला, किट्टुभीर, पादुका खोलाको पहिरो पन्छाएर गगनेखोला पहिरो पन्छाउन डोजरको प्रयोग भैरहेको जनाएको छ । डिभिजन कार्यालय जुम्लाका इञ्जिनीयर श्रवणकुमार महताराका अनुसार गगनेखोलाको पहिरोले वर्षेनी दुःख दिने गरेको छ ।

अवरुद्ध राजमार्ग खुलाउन अैतबार बिहानदेखि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, सडक डिभिजन कार्यालय जुम्ला लागिरहेको जिल्ला प्रशासन कालीकोटले जनाएको छ । रासस


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *