शुद्ध प्रशोधित भन्दै बिक्रि गरिने पिउने पानीमा कोलिफर्मको जीवाणु

समाचार
शेयर गर्नु होला

काठमाडौँ

शुद्ध प्रशोधित भन्दै विभिन्न ब्राण्ड दिएर विक्री गरिएको पिउने पानीमा कोलिफर्मको जीवाणु भेटिएका छन् । कोलिफर्म दिसामा पाइने जीवाणु हो । खाद्य, प्रविधि तथा गुणनियन्त्रण विभागले शुद्ध पिउने पानीको ब्राण्ड दिएर विक्री वितरण गर्दै आएका प्रशोधित पानीको गुणस्तर परीक्षण गर्दा यस्तो पाइेको हो ।

विभागले चालु आर्थिक वर्षको पहिलो आठ महिनामा विभाग र मातहतका कार्यालयमा आएका उजुरीका आधारमा विभिन्न नौवटा उद्योगले विक्री गर्ने पानीको नमूना सङ्कलन गरी गुणस्तर परीक्षण गर्दा कोलिफर्मको जीवाणु पाइेको छ ।

कोलिफर्म भेटिएका पानी उद्योगविरूद्ध सम्बन्धित् जिल्लाकै अदालतमा मुद्दा दर्ता भैसकेको भन्दै विभागका निर्देशक एवम् प्रवक्ता पूर्णचन्द्र वस्तीले भन्नुभयो, “कोलिफर्मको मात्रा र त्यसले मानव स्वास्थ्यमा पार्ने असरका आधारमा कारबाही हुन्छ ।”

उहाँका अनुसार विभागले जार तथा बोटलमा पानी विक्री वितरण गर्ने उद्योगको मात्रै अनुगमन गरेर त्यसको नमूना संकलन गरी गुणस्तर परीक्षण गर्ने गरेको छ । पछिल्लो आठ महिनामा विभागले ३३ वटा पानी उद्योगको नमूना संकलन गरी परीक्षण गरेको थियो । जसमध्ये नौ वटा उद्योगले विक्री गर्ने पानीमा कोलिफर्म भेटिएको छ भने १८ वटा पानी उद्योगले दूषित गुणस्तरहीन पानी वितरण गरेको पाइेको छ ।

यस्तै, बाँकी छवटा उद्योग मापदण्ड विपरीत र ऐन नियम विपरीत सञ्चालन भएको पाइेको छ । खाद्य ऐन २०२३ अनुसार उक्त पानी उपभोग गर्दा जनधनको क्षतिका साथै जनस्वास्थ्यमा गम्भीर असर पर्ने देखिएमा बढीमा ५० हजार रूपियाँसम्म जरिवाना र पाँच वर्षसम्म कारागारको सजाय वा दुबै सजाय गर्न सक्ने व्यवस्था छ ।

चिकित्सकहरू भने कोलिफर्मको मात्रा बढी भएमा तत्काल स्वास्थ्यमा समस्या अौने बताउँछन् । शुक्रराज ट्रपिकल तथा सरूवा रोग नियन्त्रण अस्पताल टेकूका अनुसन्धान ईकाइका संयोजक डा। शेरबहादुर पुनले कोलिफर्म भनेको दिसामा पाइने जीवाणु भएकाले प्रयोग गर्ने जोकोहीको स्वास्थ्यमा असर गर्ने बताउनुभयो ।

कोलिफर्म १ दशमलव ६ सम्म हुनुलाई सामान्य मानिए पनि त्योभन्दा बढी कोलिफर्म स्वास्थ्यका लागि हानिकारक हुने डा। पुनको भनाई छ । उहाँले कोलिफर्मको मात्रा तोकिएभन्दा बढी भएमा तत्काल झाडापखाला हुनुका साथै दीर्घकालसम्म पाचन प्रणालीमा समस्या आईरहने बताउनुभयो।

विभागका अनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म बजार अनुगमनबाट एक हजार ३२० नमुना सङ्कलन गरी प्रयोगशाला परीक्षण लगायत आवश्यक अनुसन्धान भैरहेको छ । विभाग र त्यस मातहतका कार्यालयबाट पछिल्लो आठ महिनाको अवधिमा खाद्य ऐन २०२३ अनुसार १३६ वटा मुद्दा विभिन्न जिल्ला अदालतमा दायर भएका छन् ।

ऐनानुसार न्यूनस्तर, मिसावट तथा दूषित खाद्यवस्तु उत्पादन तथा बिक्री वितरण गरेको कसुरका आधारमा मुद्दा दायर गरिएको विभागले जनाएको छ ।गोरखापत्र दैनिक


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *