काठमाडौँ
दक्षिण कोरियाको एक महिला ब्याण्डको गीतले युट्युबमा नयाँ रेकर्ड बनाएको छ । ब्ल्याक पिंक ब्याण्डको नयाँ गीत ‘किल दिस लभ’ बोलको गीतले युट्युबमा सबै भन्दा कम समयमा १० करोड भ्युज पाएर नयाँ रेकर्ड बनाएको हो । साथै यस गीतले गंगनम स्टाइलको गीतबाट चर्चामा आएका कोरियाली पप स्टार साइको रेकर्ड समेत तोडेको छ ।
युट्युबमा रिलिज भएको २४ घण्टामा यस गीतलाई ५ करोड ६७ लाख पटक हेरिएको थियो । रिलिजको २४ घण्टामा अहिलेसम्म धेरै पटक हेरिएको अरियाना ग्रान्डेको ‘थ्याँक्यु’ को रेकर्ड तोड्दै २४ घण्टामा धेरै हेरिने गीत समेत बनेको छ । अहिलेसम्म यस गीतलाई १३ करोड भन्दा बढी पटक हेरिसकिएको छ ।
सन् २०१६ मा बनेको कोरियाको यो महिला ब्याण्डमा जिसु, जेनी, रोज र लिसा सदस्य रहेका छन्। यस ब्याण्डले सन् २०१६ मा स्क्वायर नामक एल्बम निकालेको थियो जसलाई कोरियामा निकै मन पराइेको थियो ।
यस ब्याण्डको सन् २०१८ मा पनि डु-डु-डु-डु नामक गीत दक्षिण कोरियामा युट्युबमा धेरै हेरिने गीत बनेको थियो । अहिले रिलिज गरिएको यस गीत ‘किल दिस लब’ लाई उनीहरुले कोरियाली र अंग्रेजी भाषामा गाएका छन् ।