मलेसियाको श्रम स्वीकृति दिन सुरु

समाचार
शेयर गर्नु होला

काठमाडौँ

मलेसियाको ‘कलिङ भिसा’ आएकामध्ये १९ जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् । कलिङ भिसा आईसकेका र वैदेशिक रोजगार व्यवसायी सङ्घको सिफारिसहित आएकाले अन्तिम श्रम स्वीकृति लिएका हुन् । वैदेशिक रोजगार विभाग अन्तर्गतको ताहचलस्थित श्रम रोजगार कार्यालयले सोमबार दुई र मङ्गलबार १७ जना गरी १९ जनालाई अन्तिम श्रम स्वीकृति दिएको जनाएको छ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यही चैत १७ गतेदेखि मलेसियाको कलिङ भिसा आएका व्यक्तिका लागि श्रम स्वीकृति दिने गरी खुला गरेको थियो ।

यसका लागि कलिङ भिसा आएकाको नेपालस्थित मलेसियाली दूतावासबाट राहदानीमा छाप हान्नुपर्ने भएकाले हिजो सोमबार अबेरबाट मात्रै कलिङ भिसा आएकाले श्रम स्वीकृतिका लागि आउन थालेको ताहचलस्थित श्रम कार्यालयका प्रमुख तेजेन्द्र कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार झण्डै ११ महिनादेखि बन्द मलेसियाको रोजगारी सोमबारदेखि श्रम स्वीकृति खुलेको हो । पहिलो चरणमा कलिङ भिसा आएकाको श्रम स्वीकृति दिन थालिएको हो । मलेसियाका रोजगारदाताबाट दुई महिनाअघि कलिङ भिसा पठाएकालाई विभागले भिसा दिन श्रम कार्यालय ताहचललाई पत्राचार गरेको छ ।

विभागले मलेसियन दूतावासबाट भिसा स्वीकृत गराउन वैदेशिक रोजगार व्यवसायी सङ्घलाई जिम्मा दिएको छ । सङ्घले अन्तिम श्रम स्वीकृति लिनुपर्ने व्यवसायीलाई सम्पर्क गर्न अनुरोध गरेको छ ।

मलेसियाले स्वास्थ्य परीक्षण गर्ने संस्थाको मापदण्ड पठाएपछि झण्डै ११ महिनादेखि बन्द मलेसियाको रोजगारी खुल्न लागेको छ । सङ्घका अनुसार झण्डै सात हजार जना कलिङ भिसा लिएर अन्तिम श्रम स्वीकृतिको पर्खाइमा छन् ।

कलिङ भिसा लागेकाले अन्तिम श्रम स्वीकृति पाउने भए पनि नयाँका लागि भने मलेसियाको रोजगारी खुल्न अझै केही दिन लाग्ने बताइेको छ ।

श्रम सहसचिव रामप्रसाद घिमिरेले कलिङ भिसा आएकालाई वैदेशिक रोजगार विभागले श्रम स्वीकृति दिन सुरु गरेको र नयाँका लागि पनि प्रक्रिया सुरु भएको जानकारी दिनुभयो ।गोरखापत्र दैनिक


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *