काठमान्डौ
विश्वकै सर्वाेच्च शिखर सगरमाथाको उचाइ नाप्न सरकारी टोली बुधबार सगरमाथातर्फ जाँदै छ । नापी विभागका प्रमुख नापी अधिकृत खिमलाल गौतमको संयोजकत्वमा चारजनाको टोली सगरमाथा क्षेत्रतर्फ जाने उचाइ मापन कार्यक्रमका संयोजक सुशील डंगोलले जानकारी दिए ।
चारजनामध्ये खिमलाल गौतम र रविन कार्की सगरमाथाको टुप्पोसम्म जानेछन् । नेपाल सरकारको तर्फबाट पहिलोपटक सगरमाथाको उचाई मापन गर्न जाने टोलीलाई बुधबार विहान बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना दिएर विदाई गरेका छन् ।
गौतमले सन् २०११ मा निजामती कर्मचारी सगरमाथा आरोहण दलको सदस्य भैइ सगरमाथाको आरोहण गरिसकेका छन् । सुरजसिंह भण्डारी र युवराज धिताल भने सगरमाथा आधार शिविरमै बस्ने संयोजक डंगोलले जानकारी दिए । यसाघि सन् १९५४ मा भारतको नापी विभागको टोलीले सगरमाथाको उचाइ नापेको थियो ।
सगरमाथाको टुप्पोसम्म जाने दुई आरोहीले यो सिजन सुरु भएलगत्तै आरोहण थाल्नेछन् । करिब एक महिना लाग्ने आरोहणबाट उनीहरू फर्केपछि र खुम्बु क्षेत्रको कम्तीमा ८ स्थानमा गरिएको उचाइको मापन प्राप्त भएपछि आधुनिक उपायबाट तथ्यांक अध्ययन गरिने नापी विभागले जनाएको छ ।
सगरमाथाको उचाइ मापनकै लागि भनेर चालू आर्थिक वर्षमा १५ करोड रुपैयाँ विनियोजन गरिएको छ । अध्ययनको सुरुवात चरणदेखि अन्तिमसम्मको यो रकम पर्याप्त हुने नापी विभागको भनाइ छ ।