पाहुनालाई भानु भूमिको माटो उपहार

समाचार
शेयर गर्नु होला

दमौली

नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको जन्मगाउँमा हुने अन्तर्‍ाष्ट्रिय कवि सम्मेलनका सहभागीलाई भानु भूमिको माटो उपहार दीने भएको छ । गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँको आयोजनामा यही चैत ३० गते शनिबार भानु नगरपालिका–५ चुँदीरम्घामा हुनलागेको सम्मेलनमा आउने साहित्यकारलाई माटो उपहार दिन लागिएको हो ।

मञ्चका अध्यक्ष आकाश अधिकारीले भानुभक्त आचार्यको योगदान स्मरण गराउने उद्देश्यले भानुभक्तकालीन बिर्खे टोपी र भानुभक्तको जन्मघरको माटो उपहारका रुपमा प्रदान गर्न लागिएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “माटो र टोपी सम्झनाको रुपमा चिनो दिँदा भानुको योगदान स्मरण गर्न टेवा पुग्ने विश्वास लिएका छौ ।” साहित्यकार क्षेत्रप्रताप अधिकारीको स्मृति दिवसको अवसर पारेर भानुभक्तको जन्मगाउँमै अन्तर्‍ाष्ट्रिय कवि सम्मेलन हुँदैछ । सम्मेलनमा अमेरिका, म्यान्मा, भारत, भूटान, बङ्गलादेश, चीन, जापान र नेपाललगायतका साहित्यकारको सहभागिता रहने मञ्चले जनाएको छ ।

आयोजकका अनुसार साहित्यिक सम्मेलनमा देशभरबाट पाँच दर्जन बढी कवि र साहित्यकार सहभागी हुनेछन् । साहित्यिक कार्यक्रम दुई चरणमा हुनेछ । टाढाबाट आउने साहित्यकारलाई आज शुक्रबार भानुको जन्मस्थल नजिकै रहेको रानागाउँ भालडाँडा घरबासमा बास बस्ने व्यवस्था मिलाइेको छ ।

आजै साँझ घरबासमा सांस्कृतिक कार्यक्रम गरिने आयोजक मूल समारोह समितिका सदस्य शिव आर्य खड्काले जानकारी दिनुभयो । भोलि नै चुँदीरम्घाबेँसीस्थित भानु जन्मस्थल विकास समितिमा आयोजित कार्यक्रममा क्षेत्रप्रताप स्मृति साहित्यिक पुरस्कार मोहन दुवाल, गीतल प्रभात पुरस्कार वीरु लम्साल र दुर्गा किरण तिवारीलाई प्रदान गर्ने कार्यक्रम रहेको छ ।

अन्तर्‍ाष्ट्रिय कवि सम्मेलनले आदिकवि भानुभक्तको योगदानलाई संसारभरि फैलाउन तथा भानुको जन्मस्थललाई साहित्यिक तीर्थस्थलको रुपमा विकास गर्न टेवा पुग्ने नगरपालिका प्रमुख उदयराज गौलीले बताउनुभयो ।रासस


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *