सभापति देउवाले भने – कास्की जिते देशभर एकताको सन्देश जान्छ !

समाचार
शेयर गर्नु होला

पोखरा

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नव वर्ष २०७६ को शुभारम्भ पार्टी एकताका रुपमा हुनुपर्ने बताएका छन्। नेपाल महिला सङ्घद्वारा आज नयाँ वर्ष २०७६ को अवसरमा आयोजित शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा उहाँले नयाँ वर्षको शुभकामना व्यक्त गरे। उनले पोखराबाट पार्टी एकताको सन्देश जनताका माझमा पुग्नुपर्ने उल्लेख गर्दै कास्कीमा आगामी दिनमा संसदीय उपनिर्वाचन हुने भएकाले पार्टीलाई एक्यबद्ध हुनुपर्ने विषयमा जोड दिए।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा निधन भएपछि कास्की क्षेत्र नम्बर २ निर्वाचन क्षेत्र रिक्त छ । उक्त उपनिर्वाचन क्षेत्रमा कांग्रेसलाई जिताएमा एकताको सन्देश देशव्यापी जाने उनको भनाई छ ।

विगतमा विभिन्न गुट, उपगुट र घात प्रतिघातका कारण पार्टीले पराजय भोग्न परेकाले यसपाली त्यस्तो कर्ममा संलग्न हुने जो सुकैलाई पनि कारबाही गरिने उनले बताए । ‘घात प्रतिघातमा संलग्न नहुनुस्, एकताबद्ध भएर निर्वाचनमा जित निकाल्नुस्,’ उनले भने, ‘यहाँ जिते देशभर यसको सकारात्मक सन्देश जान्छ र कास्कीबाट एकताको सन्देश जान्छ ।’

काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नयाँ वर्ष २०७६ उपलब्धिमूलक एवं मङ्गलमय होस् भनी कामना व्यक्त गरे। आगामी १० महीनापछि पार्टीको १४ औँ महाधिवेशन गरी काँचुली फेनुपर्ने उल्लेख गर्दै वरिष्ठ नेता पौडेलले निर्धारित समयमा महाधिवेशन नभए काङ्ग्रेसलाई अपूरणीय क्षति हुने बताए।

उनले नेपाल महिला सङ्घलाई पार्टीको सङ्गठनलाई बलियो बनाउन टोल–टोलमा समिति गठन गर्न आह्वान गरे।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *