काठमाडौं
नेकपाका नेता झलनाथ खनालले अवसर पाउँदा केही गर्न केही नगरेको कांग्रेसले अहिले गफ लगाउने थालेको टिप्पणी गरेका छन् । कांग्रेसले केही गर्न नसकेकै कारण युवा जनशक्ति विदेशिन बाध्य भएको उनले बताए । शनिबार राजधानीमा आयोजित कार्यक्रममा खनालले भने, कम्युनिस्ट पार्टीले विकास निर्माणमा केही गर्न सक्दैन भनेर विरोधको कुनै अर्थ म देख्दिनँ ।’
सत्तारुढ दल नेकपाका नेता एवं पुर्व प्रधानमन्त्री खनालले सरकारको नेतृत्वमा रहेका बेला नेपाली कांग्रेसले केही गर्न नसकेका कारण युवा जनशक्ति विदेशिन बाध्य भएको बताएका हुन्। २०४६ साल यता पटक पटक सरकारको नेतृत्व गरेको कांग्रेसले अवसर पाउदा मुलुक र मुलुकवासीका लागि उपलब्धिमुलक काम गर्न नसकेको टिप्पणी गरे।
उनले भने “नेपाली कांग्रेसका साथीहरुले हामी गर्छौ भनेर अहिले गफ लगाउनुभएको छ । तर ४६ साल पछाडि अवसर प्राप्त भएको हैन ? पटक पटक बहुमत प्राप्त भएको होइन । तर के गर्नुभो ? सारा देशलाई गरिवीमा डुबाउनुभयो । सारा देशमा वेरोजगारीमा डुबाउनु भो ।
आज झण्डै ५० लाख भन्दा बढी युवाहरु विदेशमा जान बाध्य भैइरहेका छन् । यो बाध्यता खडा गर्यो कसले ? नेपाली कांग्रेसका साथीहरुलाई म एक पटक आफ्नो अनुहार ऐनामा हेर्न भन्न चाहन्छु । ”
पछिल्लो समय पुर्वाधार निर्माण, साधन स्रोतको विकास तथा जलस्रोतको विकासका लागि योजनावद्ध ढंगले अघि बढ्ने काम भएको भन्दै उनले सरकारलाई असफल पार्न गरिएका षडयन्त्र विरुद्ध दृढताका साथ उभिनुपर्नेमा जोड दिए।
पछिल्लो समय लोडसेडिङ गराउने तत्व सक्रिय भएको भन्ने खबर आएको भन्दै उनले त्यस किसिमको षडयन्त्र विरुद्ध दृढताका साथ उभिन सरकार र नेपाल विद्युत् प्राधिकरणलाई आग्रह गरे।