अख्तियारद्वारा २३५ मुद्दा दायर

समाचार
शेयर गर्नु होला

काठमाडौँ

भ्रष्टाचारजन्य कार्यको अनसन्धान तथा मुद्दा दायर प्रक्रियामा पछिल्लो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सक्रियता बढेको छ । २०७५ साउन १ गतेदेखि चैत मसान्तसम्म अख्तियारले २३५ मुद्दा दायर गरेको छ । अघिल्लो आर्थिक वर्षभरमा १९४ मुद्दा दायर गरिएका थिए।

पछिल्लो समय अख्तियारले रुग्ण आयोजनाका अनियमिततालाई प्राथमिकतामा राखेको छ । अख्तियारका अनुसार भ्रष्टाचारका उजुरी पनि अघिल्लो वर्षभरको तुलनामा नौ महिनाको अवधिमा नै ह्वात्तै बढेका छन् ।

‘भ्रष्टाचारजन्य कार्यौपरको अनुसन्धानमा प्रभावकारिता ल्याई २३५ वटा मुद्दा विशेष अदालतमा दायर गरिएको छ । गत आर्थिक वर्षभरमा १९४ मुद्दा अदालतमा दायर गरिएकोमा चालु आर्थिक वर्षको नौ महिनामा अभियोजनमा उल्लेख्य वृद्धि भएको छ’ अख्तियारको विज्ञप्तिमा उल्लेख छ ।

अघिल्लो आर्थिक वर्षभरमा १९ हजार ४८८ उजुरी अख्तियारमा दर्ता भएका थिए । यो वर्षको नौ महिनामा २९ हजारभन्दा बढी उजुरी दर्ता भएको अख्तियारले जनाएको छ । पछिल्लो समयमा अख्तियारमा स्थानीय तहसँग सम्बन्धित उजुरीको संख्या बढेका छन् ।

स्थाानीय तहमा आर्थिक अनियमितताका विषयमा परेका उजुरी उल्लेख्य रहेका छन् । यो नौ महिनाको अवधिमा अख्तियारले १२७ स्टिङ अपरेशनमध्ये ९० वटामा कारबाही गरिएको जनाएको छ ।

यस्तै, भ्रष्टाचारविरुद्ध आयोगको पूर्वसक्रियतालाई अभिवृद्धि गर्नशूक्ष्म निगरानी तथा द्रुत कारबाही टोली गठन गरेको छ । उक्त टोलीलाई सक्रिय बनाइेको अख्तियारले जनाएको छ ।

सार्वजनिक विकास निर्माणका कार्य उपरको कारबाहीमा प्रभावकारिता ल्याउन निर्माण गुणस्तर परीक्षण प्रयोगशालाको सुदृढीकरण गरी पूर्णरुपमा कार्यान्वयनमा ल्याइेको पनि अख्तियारले जनाएको छ ।

भ्रष्टाचारविरुद्ध नागरिक समाजको भूमिका अभिवृद्धि गर्न परीक्षणको रूपमा हरेक प्रदेशका दुई÷दुई जिल्लामा नागरिक निगरानी संस्था गठन गरिएका छन् ।

यस्तै, पछिल्लो समय सार्वजनिक कार्यालयहरूमा आयोगका कर्मचारीहरू सेवाग्राहीका रुपमा प्रस्तुत भैइ सेवाप्रवाहको अनुगमन गर्ने कार्य प्रारम्भ गरिएको पनि अख्तियारले जनाएको छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *