बाँके
आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको भव्य समारोहबीच आज औपचारिक उद्घाटन हुँदैछ । प्रतियोगिताका विभिन्न खेलहरु गत चैत २७ गतेदेखि नै जारी रहे पनि औपचारिक उद्घाटन आज साँझ ६ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुहुनेछ । विसं २०३८ देखि शुरु भएको प्रतियोगिता आठौँ संस्करणको रूपमा नेपालगञ्जमा हुन थालेको हो ।
नेपालगञ्जमा दोस्रोपटक हुन थालेको प्रतियोगिताले नेपालगञ्ज उल्लासमय बनाएको छ । यसाघि नेपालगञ्जमा विसं २०५५ मा चौथो राष्ट्रिय खेलकूद प्रतियोगिता भएको थियो । ‘ आठौ राष्ट्रिय खेलकूद, हाम्रै प्रदेशमा, पसिना र पौरख आफ्नै देशमा’ भन्ने मूल नाराका साथ नेपालगञ्जस्थित महेन्द्र रङ्गशालामा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले प्रतियोगिताको उद्घाटन गर्नुहुने छ ।
राष्ट्रपति भण्डारीले उद्घाटन गरेको प्रतियोगिताको समापन प्रधानमन्त्री केपी शर्मा ओलीले यही वैशाख ११ गते नेपालगञ्जमा गर्नुहुने छ । राष्ट्रपति भण्डारी दिउँसो नेपालगञ्ज आइपुग्नुहुने कार्यक्रम छ ।
उद्घाटन समारोहमा सहभागी हुन युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा, शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राई, प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेल नेपालगञ्ज आइपुग्नुभएको छ ।
आठौँ प्रतियोगिता उद्घाटनको पूर्वसन्ध्यामा रहेको उल्लेख गर्दै राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्यसचिव केशवकुमार विष्टले बृहत् प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो ।
“हामीले प्रतियोगितालाई ऐतिहासिक बनाउन सबै तयारी पूरा गरिसकेका छौँ”, उहाँले भन्नुभयो, “प्रतियोगिता केही दिन अघिदेखिबाट शुरु भए पनि आज राष्ट्रपति भण्डारीबाट भव्य समारोहका बीच उद्घाटन गर्नेछौँ, आठौँ खेलकूद पूर्वाधारका हिसाबले अहिलेसम्मकै ऐतिहासिक हुनेछ ।” उद्घाटन समारोहमा विभिन्न भाषा, कला संस्कृति, वेषभूषामा खेलाडी सहभागी हुनेछन् ।
राखेपले प्रत्येक दुई/दुई वर्षमा आयोजना गर्ने प्रतियोगितालाई पहिलोपटक निर्धारित समयमै सम्पन्न गर्न थालेको छ । उहाँले भन्नुभयो, “सैँतीस वर्षको बृहत् खेलकूदको इतिहासमा शुरुका तीन संस्करणबाहेक बृहत् राष्ट्रिय खेलकूद ३३ वर्षपछि निर्धारित अवधिमै हुनलागेको छ ।
यो परिस्थितिको अन्त्य गर्ने मान्यताका साथ हामीले सातौँको समापनपछि आठौँको तयारीमा गम्भीरतापूर्वक जुटेका थियौँ ।” सदस्य सचिव विष्टका अनुसार प्रतियोगिताका लागि भौतिक संरचनाको काम सकिएको छ ।
प्रतियोगिताका लागि भिआइपी प्यारापिटको निर्माण अन्तिम चरणमा पुगेको छ । नेपालमै पहिलोपटक प्रतियोगिताका लागि अत्याधुनिक प्यारापिट निर्माण गरिएको छ । उद्घाटन समारोहमा सहभागी हुन खेलाडी नेपालगञ्ज आउने क्रम जारी छ ।
प्रतियोगिता नेपालगञ्जसहित बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देही र केही प्रतियोगिता काठमाडाँै, ललितपुर र पोखरामा भैरहेका छन् । विभिन्न ठाउँमा प्रतियोगिता भए पनि उद्घाटन समारोहमा सहभागी हुन सबै खेलाडी, प्रशिक्षक, खेल पदाधिकारी नेपालगञ्ज आएका छन् ।
पैँतीस खेल समावेश रहेको प्रतियोगितामा दुई हजार ८२५ पुरुष तथा दुई हजार ३८६ महिला खेलाडी सहभागी छन् । प्रदेश नं ५ का प्रदेश खेलकूद विकास समितिका अध्यक्ष भीम वलीले ऐतिहासिक शहर नेपालगञ्जलाई अहिले प्रतियोगिताले उत्सवमय बनाएको बताउनुभयो ।
“पहिलेभन्दा यो प्रतियोगिता ऐतिहासिक हुँदैछ, प्रतियोगिता ऐतिहासिक भएकाले मुलुकको ध्यान नै केन्द्रीत भएको छ”, उहाँले भन्नुभयो, “आफ्नै घर आँगनमा हुँदा यहाँका स्थानीयमा खुशीयाली छाएको छ ।” उहाँले प्रतियोगिताले सङ्घीय संरचनाअनुसार मुलुकलाई पहिलोपटक एकै ठाउँमा उभ्याउनेसमेत बताउनुभयो ।
“सङ्घीय संरचनामा मुलुक गैसकेपछि यति धेरै सबै जिल्लाका मानिसको सहभागिता रहेको थिएन”, उहाँले भन्नुभयो, “प्रतियोगितामा सबै जिल्लाबाट अतिथि, खेलाडी आउने भएकाले मुलुक सङ्घीय संरचनामा भए पनि धेरै मानिस एकै ठाउँमा हुने छन् ।”
प्रतियोगिताले गर्दा अहिले नेपालगञ्ज दुलहीजस्तै सिङ्गारिएको छ । प्रतियोगितामा सहभागी हुन आउने विशिष्ट अतिथि, खेलाडी, प्रशिक्षकलाई स्वागत गर्नका लागि सयभन्दा बढी गेट निर्माण भएका छन् ।
नेपालगञ्ज विमानस्थलदेखि प्रतियोगितास्थल महेन्द्र रङ्गशालासम्ममा विभिन्न ब्यानर, गेट निर्माण गरिएका छन् । बजारको मुख्यचोक पुष्पलालचोक, धम्बोजीचोक, विपीचोक र त्रिभुवनचोक गेट र ब्यानरले सजिएका छन् ।
प्रतियोगितालाई सफल बनाउन यहाँका सरकारी निकाय, स्थानीय तह, स्थानीय राजनीतिक दल, गैरसरकारी संस्था लागिपरेका छन् । आठौँ राष्ट्रिय खेलकूदमा खेलाडी, प्रशिक्षक, व्यवस्थापक, प्राविधिक गरी करीब १० हजारको प्रत्यक्ष सहभागिता रहनेछ ।
पूर्व मेचीदेखि पश्चिम महाकाली, हिमालदेखि तराईसम्मका खेलाडी सात प्रदेश, तीन विभागीय र एक गैराअवासीय नेपाली सङ्घ (एनाअरएनए) गरी ११ टिमबाट एकैपटक एकैथलोमा जमघट हुने एक महत्वपूर्ण मञ्च भएको राखेप सदस्यसचिव विष्टले बताउनुभयो ।
यसैगरी पहिलोपटक प्रतियोगितामा सात देशका खेलाडीसमेत सहभागी भएका छन् । अष्ट्रेलिया, अमेरिका, मकाउ, दुबैइ, हङकङ, क्यानडा र मलेशिलाका २५ खेलाडी सहभागी हुँदैछन् ।
विभिन्न जातजाति र धर्मप्रति आस्था राख्ने नेपालीलाई भावना साटासाट गर्ने, आपसी भाइचारा र मित्रता प्रगाढ बनाउने अवसरको रुपमा बृहत् खेलकूद भएको सदस्यसचिव विष्टको भनाइ छ ।
उहाँले भन्नुभयो, “खेलकूदले जात, धर्म, भाषा र सांस्कृतिक विभेद गर्दैन, तसर्थ यो देश र समाज जोड्ने सशक्त माध्यम हो, अन्तर्ाष्ट्रिय मञ्चमा देश चिनाउने विधा हो ।” रासस