पाँचथर
पाँचथरको मिक्लाजोङ गाउँपालिका–३ आरुबोटेमा भएको हत्याकाण्डमा ज्यान गुमाएका नौजनाको अन्त्येष्टि गरिएको छ । प्रहरीले घटनाका आरोपित मानबहादुर माखिमको शव भने परिवारको जिम्मा लगाएको छैन । मिक्लाजोङ गाउँपालिका–३ का वडाध्यक्ष हस्तराज फियाकका अनुसार हत्या भएका दुई परिवारमध्ये बमबहादुर फियाकको परिवारका चार सदस्यको अरुबोटेस्थित सल्लेरी चिहानडाँडामा अन्त्येष्टि गरिएको छ ।
त्यस्तै धनराज शेर्माको परिवारका पाँच सदस्यलाई मिक्लाजोङ–२ को सराङडाँडास्थित नसुवा दोभानमा एकै चितामा जलाइेको छ । फियाक परिवारका बमबहादुर फियाक र श्रीमती पुर्षीमाया फियाक तथा छोरी मनकुमारी फियाक र नातिनी आसे फियाकको हत्या भएको थियो । साइँली छोरी बुद्धमाया खजुमले मृतकहरूलाई दागबत्ती दीइन् ।
बमबहादुर फियाकका चार छोरीमध्ये साइँली छोरी बुद्धमाया र जेठी छोरी दिलमाया तुम्सा मात्रै जीवित छन् । फियाक घरको चाबी उनै छोरीहरूको जिम्मा लगाइेको छ । सोही घटनामा बमबहादुरका माइला ज्वाइँ मृत्यु भएका धनराज शेर्माको परिवारका पाँच सदस्यको मृत्यु भएको थियो । आरुबोटे बस्दै आएका धनराजको पुख्र्यौली घर सराङडाँडा हो । घटनामा धनराजकी श्रीमती जस्मिता शेर्मा तथा छोरीहरू युहाना शेर्मा, मुना शेर्मा र इक्सा शेर्माको हत्या भएको थियो ।
अहिल्यै बोल्न मिल्दैन – प्रहरी
घटनाका विषयमा जिल्ला र केन्द्रबाट खटिएको टोलीले अनुसन्धान जारी राखेको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी अनिल पौडेलका अनुसार इलाका प्रहरी कार्यालय रविलाई केन्द्र बनाएर आरुबोटे घटनाको अनुसन्धान भैरहेको छ । घटनाका सम्बन्धमा अहिल्यै केही अनुमान गर्न सकिने अवस्था नरहेको पौडेलले बताए । केन्द्रीय अनुसन्धान ब्युरोको टोली तथा प्रदेशको टोलीसमेत अनुसन्धानमा खटिएको छ ।नयापत्रिका दैनिक