काठमाडौं
उत्तरी ब्राजिलको कारागारमा कम्तीमा ४२ कैदी मृत भेटिएका छन् । अमेजनस राज्यको एक कारागारमा भएको झडपमा १५ जनाको ज्यान गएको १ दिनपछि ठूलो संख्यामा कैदीबन्दी मृत अवस्थामा भेटिएका हुन् । ब्राजिलका सरकारी अधिकारीहरुका अनुसार, अमेजन राज्यको राजधानी मानसस्थित ४ वटा कारागारमा गरिएका निरीक्षणका क्रममा कैदीहरु मृत भेटिएका हुन् ।
अक्सिजन अभावले श्वासप्रश्वासमा अवरोध भैइ कैदीहरुको ज्यान गएको अमेजन राज्यको प्रिजन एजेन्सीले जनाएको छ । घटनापछि यसबारे सरकारी अधिकारीहरुले छानबिन थालेको बताइेको छ । अवस्थालाई थप बिग्रन नदिन एक कार्य दललाई घटनास्थलमा परिचालन गरिएको छ ।
ब्राजिलमा आपराधिक गतिविधि बढी हुन्छ । एक तथ्यांकानुसार, विश्वको तेस्रो ठूलो कैदीबन्दी भएको देश ब्राजिल हो । ब्राजिलको गत अप्रिलसम्मको तथ्यांकानुसार, ७ लाख १२ हजार ३०५ कैदी बन्दी देशका विभिन्न कारागारमा कैद भुक्तान गरिरहेका छन् ।
बीबीसीका अनुसार, सन् २०१७ को सुरुवातदेखि हालसम्म उत्तरी ब्राजिलमा मात्रै ११९ को ज्यान गुमिसकेको छ । गत आइतबार मात्रै १५ कैदीको जेलभित्र भएको झडपका क्रममा ज्यान गएको थियो । ब्राजिलको अमेजोनास राज्यको एक कारागारमा झडप हुँदा कैदीबीन्दैको ज्यान गएको थियो ।