‘पार्टी विधानानुसार चल्न सकेन’

राजनीति समाचार
शेयर गर्नु होला

काठमान्डौ

नेपाली काङ्ग्रेसका नेताहरुले पार्टी विधि र विधानानुसार चल्न नसकेको बताएका छन् । नेपाली काङ्ग्रेस लमजुङ–काठमाडौँ सम्पर्क समितिले आज यहाँ आयोजना गरेको ‘राष्ट्रिय जागरण अभियान’मा पार्टीलाई बलियो बनाउन वैधानिक ढङ्गले चल्नुपर्ने बताएका हुन् ।

काङ्ग्रेस केन्द्रीय सदस्य दिलबहादुर घर्तीले पार्टीलाई बलियो बनाउन पार्टी नेतृत्वले विधानको पालना गर्नुपर्ने बताए । “जागरण अभियानले काङ्ग्रेसलाई जनतासम्म लैजान मद्दत पुगेको छ”, उनले भने  ।

नेता घर्तीले सरकार संविधानको मर्म र भावनाअनुसार चल्न नसकेको आरोप लगाए । अर्का केन्द्रीय सदस्य कमला पन्तले स्थानीय तहदेखि केन्द्रसम्म पार्टीको संरचनालाई पूर्णता दिए मात्र पार्टी बलियो हुने उनले भने । “भ्रातृ संस्था र शुभेच्छुक संस्थाको अधिवेशन तोकिएको समयमा हुन नसक्दा पार्टी कमजोर हुँदै गएको छ”,उनले भने  ।

केन्द्रीय सदस्य प्रदीप पौडेलले काङ्ग्रेसलाई बलियो बनाउन पार्टीभित्र वृहद एकता आवश्यक रहेको बताए  । “समृद्धिको नारा बोकेको वर्तमान सरकारले समृद्धिको जग बसाल्न सकेन”, उनले भने ।

पार्टीका लमजुङ सभापति भेषबहादुर पौडेलले गाउँगाउँमा रहेका विद्यार्थी, महिला, किसानको भावनालाई समावेश गरेर अगाडि बढेमात्र काङ्ग्रेस लमजुङको सङ्गठन बलियो हुने बताए । नेता विष्णुप्रसाद धितालले नेता र कार्यकर्ता एकताबद्ध भएर अगाडि बढेमात्र काङ्ग्रेसको सङ्गठन बलियो हुने बताए ।

सम्पर्क समितिका अध्यक्ष प्रदीपराज अधिकारी, नेपाल विद्यार्थी सङ्घका निवर्तमान कोषाध्यक्ष शिव रिमाल, नेविसङ्घ लमजुङ–काठमाडौँ सम्पर्क समितिका उपाध्यक्ष सुमन बसौलालगायतले काङ्ग्रेसलाई बलियो बनाउन युवामुखी कार्यक्रम अगाडि बढाउनुपर्नेमा जोड  दिए।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *