धनगढी
कैलाली आएको भीषण हावाहुरीले कैलाली र कञ्चनपुरमा दुईको मृत्यु हुनुका साथै ठुलो क्षति भएको छ। क्षतिको पूर्ण विवरण नाअे पनि उक्त हावाहुरीमा परेर एक सयभन्दा बढी मानिस घाइते भएको प्रारम्भिक विवरण प्राप्त भएको छ।
कैलालीको गोदावरी नगरपालिका–८ मा हावाहुरीको समयमा टिपरसँग से२१प ५८२१ नंको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक सोही ठाउँका वीरबहादुर चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।
त्यसैगरी टिकापुर नगरपालिका–२ स्थित पोल्टीफार्म भत्किँदा त्यसमा च्यापिएर ४७ वर्षीय लहानु डगौराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रकाश डाँगीले बताए।
हावाहुरीको समयमा घरका जस्तापाता लागेर, रुख तथा बिजुलीका खम्बा लागेर कैलालीका विभिन्न ठाउँमा ७६ जना घाइते भएका उनले जानकारी दिए। घाइतेमध्ये गोदावरी नगरपालिकाका जनक मल्ल, गौतम मल्ल, धनगढीका सरिता जोशी र सिक्नटा चौधरी गम्भीर घाइते भएका छन्। घाइते जनक र गौतमको सेती अञ्चल अस्पतालमा उपचार भैरहेको छ भने जोशी र चौधरीलाई थप उपचारका लागि भारत सिफारिश गरिएको छ।
अन्य ७२ जना घाइतेको सेती अञ्चल अस्पतालका साथै निजी स्वास्थ्य संस्थामा उपचार भैरहेको प्रहरीले जनाएको छ। हावाहुरीका कारण भएको धनजनको क्षति विवरण आउन अझै बाँकी रहेको प्रहरीले जनाएको छ।
बिजुली खम्बा भाँचिएको, ठाउँ ठाउँमा रुढ ढलेका कारण विद्युत् सेवा ठप्प छ भने कतिपय क्षेत्रका सडकमा आवागमन अबरुद्ध भएको छ। हावाहुरीमा फसेका र घाइतेको उद्धारमा तत्काल नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीको टोली परिचालित भएको थियो।
यसैगरी कञ्चनपुरको बेदकोट नगरपालिका र भीमदत्त नगरपालिकामा गरी हावाहुरीका कारण २३ जना घाइते भएका छन्। घाइतेमध्ये आठ जनाको सेती अञ्चल अस्पताल कैलालीमा उपचार भैरहेको छ। तीमध्ये एक जना सख्त घाइते छन्। अन्य १५ जनाको महाकाली अञ्चल अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले जानकारी दिए।