काठमान्डौ
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार लोकतन्त्रको खिलाफमा रहेको आरोप लगाएका छन् । पार्टीले गरेको जागरण अभियानको पहिलो चरण समापनमा शनिबार लमजुङमा आयोजित कार्यक्रममा उनले लामो संघर्ष र बलिदानबाट प्राप्त प्रजातन्त्र नेकपा नेतृत्वको सरकारले हनन् गरेको आरोप लगाए ।
उनले वर्तमान सरकारले स्वतन्त्र न्यायपालिका, प्रेस स्वतन्त्रता, मानव अधिकारमाथि हस्तक्षेप गरेबाट लोकतन्त्र विरोधि रहेको पुष्टि हुने दाबी गरे । पूर्व प्रधानमन्त्रीसमेत रहेका देउवाले नागरिकको स्वतन्त्रता विरोधी कुनै पनि विधेयक संसदबाट पारित हुन नदिने बताए ।
ओली नेतृत्वको सरकारको निरंकुश क्रियाकलापबारे आम नागरिक सचेत रहनु आवश्यक रहेको उनले औंल्याए । उनले प्रजातन्त्रका लागि फेरि लडाई गर्नुपर्ने अवस्था आएको धारणा व्यक्त गरे ।
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले मुलुकमा कांग्रेसले शान्ती र सविधानको नेतृत्व नगरेको भए अझै पनि मुलुकमा द्वन्द्व रहिरहने दाबी गरे। कांग्रेसको नेतृत्वमा आएको नागरिक स्वतन्त्रता वर्तमान अधिनायकवादी सरकारले हनन्को प्रयास गरेको उनले आरोप लगाए ।
कार्यक्रममा केन्द्रीय सदस्य दिलबहादुर घर्ती, कमला पन्त, केन्द्रीय सदस्य एवं नेपाल महिला संघ केन्द्रीय सभापति डा. डिला संग्रौललगायतले मन्तव्य राखेका थिए ।
विभिन्न क्षेत्रमा कार्यक्रम गरी पहिलो चरणको जागरण अभियान सम्पन्न गरेको नेपाली काग्रेस लमजुङका सभापति भेषबहादुर पौडेलले बताए ।