काठमान्डौ
करोडौँ रुपैयाँको आर्थिक चलखेल र यातायात व्यवसायीको प्रभावमा परेर यातायात व्यवस्था विभागले बिहीबार दिउँसो ३ बजे यात्रुबाहक र मालबाहक सवारीसाधनमा २० प्रतिशत भाडा वृद्धिको निर्णय गर्यो ।
यसअघि गत दसैँको मुखमा १० प्रतिशत भाडा वृद्धि गरिएको ९ महिना नबित्दै भाडा वृद्धि गर्नुको कुनै वैज्ञानिक कारण थिएन । असोजको तुलनामा अहिले पेट्रोलको मूल्य ४ रुपैयाँ र डिजेलको मूल्य साढे २ रुपैयाँले घटेको छ । यातायात व्यवसायीले करोडौँ रुपैयाँ परिचालन गरी विभागलाई भाडा बढाउन लगाएका थिए ।
तर, भाडा वृद्धि नगर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले हस्तक्षेप गरेका कारण ५ घन्टापछि बेलुका ८ बजे नै भाडा वृद्धिको निर्णय फिर्ता लिएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको उच्च स्रोतका अनुसार विभागले मन्त्रालयलाई भाडा वृद्धिबारे जानकारी नै गराएको थिएन । ‘भाडा वृद्धिबारे निर्णय लिन सक्ने अधिकार विभागलाई छ, तर औचित्यविना नै बढाएकाले मन्त्रालयले हस्तक्षेप गरी निर्णयलाई तत्काल रोक्न निर्देशन दियो,’ मन्त्रालयका एक अधिकारीले बताए ।
हठात् यस्तो निर्णय आउनुमा आर्थिक चलखेलको आशंका गरेको ती अधिकारीको भनाइ छ । विभागका महानिर्देशक कुमारप्रसाद दाहालले भने मन्त्रालयको नीतिगत सहमति लिएर भाडा वृद्धिको निर्णय गरेको भए पनि पछि फिर्ता गर्न निर्देशन आएको जानकारी दिए ।
२७ वर्षदेखि (०४९–०७६) वर्षदेखि यातायात क्षेत्रमा एकछत्र सिन्डिकेटको राज चलाएका यातायात व्यवसायीले भाडा वृद्धिका लागि सरकारलाई दबाद दिँदै आएका थिए । उनीहरूले हरेक वर्ष दसैं–तिहारको मौका पारेर भाडा वृद्धि नगरे सवारी ठप्प पार्ने चेतावनी दिने र सरकार बाध्य भएर भाडा वृद्धि गर्दै आइरहेको थियो ।
गैरसरकारी संस्थाका रूपमा यातायत समिति दर्ता गरेर आफूअनुकूल निर्णय गराउँदै आएका यातायात व्यवसायी यही १८ जेठदेखि कम्पनीमा दर्ता भैरहेका छन् । तर, मन्त्रीदेखि विभागका महानिर्देशकसम्मलाई वैज्ञानिक विधिअनुसार भाडा समायोजनका लागि दबाब तथा ‘धम्की’ दिँदै आएका थिए । उनीहरूकै दबाब थेग्न नसकेर भाडा वृद्धि गर्ने निर्णय विभागले गरेको यातायात क्षेत्रसम्बद्ध अधिकारीहरूको भनाइ छ । नयापत्रिका दैनिकबाट