चितवन
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि तथा वनविज्ञान विश्वविद्यालयले स्थापनाको औचित्य पुष्टि गर्न नसकेको बताएका छन् । उनले विश्वविद्यालयलाई उत्पादन वृद्धि र रोजगारी सृष्टिको अध्ययन, अनुसन्धान, प्रचारप्रसार र वितरणको नयाँ अभियानको थालनीकर्ताका रुपमा अगाडि लैजान जरुरी रहेको बताए ।
दाहालले कृषि क्षेत्रमा विज्ञान र प्रविधिको राम्रो प्रयोग र अध्ययन अनुसन्धानलाई किसानको उत्पादनको वृद्धिसँग जोड्न सके तीन करोडलाई मात्र नभै १० करोडलाई पुग्ने उत्पादन नेपालमै उत्पादन हुने बताए ।
उनले सामुहिक खेती प्रणालीतर्फ कसरी अघि बढ्न सकिन्छ भनी नयाँ मोडालिटिको विकास गर्न आग्रह गरे । शनिबारदेखि सुरु भएको ‘कृषि प्रदर्शनी तथा कृषक मेला २०७६’ को उद्घाटनमा बोल्दै उनले स्थापनाको मर्मानुसार विश्वविद्यालयले काम गर्न नसकेको गुनासो गरे ।
कार्यक्रममा बोल्दै प्रतिनिधि सभाका कानुन न्याय तथा मानवाधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले संविधानले व्यवस्थाअनुसार खाद्य अधिकार पूरा गर्न उत्पादनलाई वृद्धि गर्नु पर्ने बताए ।
विधानले मौलिक अधिकारमा खान नपाउनेलाई राज्यले खान दिने भन्दै उल्लेख गरेको छ तर अहिलेकै अवस्थामा त्यो सम्भव छैन’ उनले भने ।
कार्यक्रममा नेकपाका जिल्ला अध्यक्ष यमबहादुर परियारले एउटै लक्ष्य ‘समृद्ध नेपाल, सुखी नेपाली’ भएकाले विकासमा सबैको साथ आवश्यक रहेको बताए । कार्यक्रममा कांग्रेसका जिल्ला सभापति जीतनारायण श्रेष्ठले देशको विकासमा सत्ता पक्षले प्रतिपक्षसँग समन्वय गरेर अगाडि बढ्नु पर्ने बताए ।