लमजुङ
लमजुङ र मनाङ जोड्ने म्यार्दीखोलामा आइतबार आएको बाढीले बेलिब्रिज बगाएपछि मनाङ र लमजुङको सडक सम्बन्ध टुटेको छ ।
लमजुङ र मनाङ सिमानामा पर्ने म्यार्दीखोलामा दिउँसो एक्कासी आएको बाढीले पुल बगाएको स्थानीय चेकमान गुरुङले बताए । पुल बगाएपछि मनाङबाट लमजुङ आउदै गरेको र लमजुङबाट मनाङ जादै गरेका सवारी अवरुद्ध भएका छन् ।
सवारी रोकिएपछि यात्रु अलपत्र परेका छन् । सडक निर्माण भएको एक दशकपछि हिमाली जिल्ला मनाङ जोड्न लमजुङ सीमा म्यार्दी खोलामा बेलिब्रिज निर्माण गरिएको थियो । मनाङका डीएसपी टीकाबहादुर कार्कीका अनुसार दिउँसो करिब २ बजेतिर पुल बगाएको हो ।
उनका अनुसार तिमाङखोलाको छहरेमा राखिएको हृयुमपाइप सहितको अस्थायी काठे पुल बगाउँदा तिमाङ क्षेत्रबाट सवारीसाधन तल्लो क्षेत्र अौन र माथिल्लो क्षेत्र जान सकेका छैनन् । दुईवटा पुल बगाएपछि तत्कालका लागि आवतजावत बन्द भएको उनले बताए ।