काठमाडौं
विवादास्पद गुठी सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक राष्ट्रियसभाबाट फिर्ता भएको छ । विधेयक फिर्ता लिने भूमिसुधारमन्त्री पद्मा अर्यालको प्रस्ताव मंगलबार राष्ट्रियसभाबाट पास भएको हो । विधेयकलाई लिएर आन्दोलन चर्किएपछि सरकारले विधेयक फिर्ता लिने घोषणा गरेको थियो ।योसँगै विधेयक राष्ट्रियसभाबाट औपचारिक रुपमा नै फिर्ता भएको छ।
यसअघि गुठी विधेयकको बारेमा चौतर्फी विरोध भएपछि मन्त्री अर्यालले मन्त्रालयमा पत्रकार सम्मेलन गरी विधेयक फिर्ता लिने घोषणा गरेकी थीइन्। विधेयक फिर्ताको प्रस्ताव पेश गर्दे मन्त्री अर्यालले सरकार जनताप्रति उत्तरदायी हुँदै जनताको भावनाको कदर गरेर गुठी विधेयक फिर्ता लिने निष्कर्षमा पुगेको बताइन्।
उनले हुँदै नभएको कुरामा भ्रम छरेर सरकारलाई वास्तविक कुरा राख्ने वातावरण नै नदीएको र विधेयकका बारेमा हल्ला पिटाएर गुठीयारलाई उत्तेजित गराउने काम भएको दाबी गरिन्। सरकारले विधेयकमा नमिलेका कुरा छलफल गरी मिलाएर जाउँ भन्ने प्रस्ताव गर्दा गर्दै पनि समाधानमा नभैइ इगो बनाउने दिशामा उन्मुख भएको उनले टिप्पणी गरिन्।
उनले भनिन्, ‘गुठीयारहरुको हक अधिकार स्वतः समाप्त गरी राज्यले गुठीमाथि हस्तक्षेप गर्न लागेको भनी प्रश्न उठाइयो।’ उनले गुठी का जग्गा यसाघि नै हिनामिना गर्ने काम भएकाले त्यसलाई सरकारले रोक्न मात्रै खोजेको भन्दै विगत सम्झन आग्रह गरिन्।
उनले भनिन्, ‘एकातिर औंला उठाइरहँदा एउटा औंला त अर्को तिर फर्किन्छ तर बाँकी औलाहरु आफूतिर फर्किन्छ भन्ने कुरामा पनि हेक्का राख्नुपर्छ। त्यसैले यसको अनुसन्धान, विश्लेषण, खोजी नीतिको निम्ति मैले सबै सरोकारवालाहरुलाई अनुरोध गर्न चाहन्छु।’
जनभावनालाई कदर गर्दै विधेय फिर्ता लिने अवस्थामा पुग्दै गर्दा फेरि खारेजीको कुरा उठेको भन्दै उनले गुठी विधेयकलाई सरकारसँग जोरी खोज्ने निहुँ बनाउन भन्दा मुलुकको विकास र सम्मृद्धिको वहसमा सरिक हुन अनुरोध गरिन्।