ट्रम्प र किमबीच ऐतिहासिक भेट,ट्रम्प उत्तर कोरियाली भूमिमा पाइला राख्ने पहिलो अमेरिकी राष्ट्रपति

अन्तर्राष्ट्रिय
शेयर गर्नु होला

बीबीसी

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भेट गर्ने इच्छा प्रकट गरेको भोलिपल्टै आइतबार उत्तर कोरियाली नेतासँग दुई कोरियाबीचको असैनिकीकृत क्षेत्र भनिने सिमानामा दुई नेताको भेट भएको छ । जहाँ दुई नेताले आपसमा हात मिलाएको क्षणलाई ऐतिहासिक भनिएको छ।

जी–२० शिखर सम्मेलनको लागि जापानको ओसाका र त्यो सकेर दक्षिण कोरियाको राजधानी सोल पुगेका ट्रम्पले आइतवार उत्तर कोरियाली नेता किमलाई कोरियाली सिमाना पार गरेर नै भेट्न पुगेका हुन् ।उनी उत्तर कोरियाली भूमिमा पाइला राख्ने पहिलो सत्तासीन अमेरिकी राष्ट्रपति बन्न पुगेका छन् ।

दुई नेताहरूबीचको एक वर्ष र केही बढीको समयको अन्तरालमा भएको यो तेस्रो आमनेसामने भेट हो । उनीहरूबीचको भेट सन् १९५३ को कोरियाली युद्धपछि विभाजित कोरियाली प्रायद्वीपको त्यस्तो क्षेत्रमा भएको छ जुन युद्धका कारण प्राय तनावग्रस्त रहँदै आएको थियो ।

ट्रम्पले सामाजिक सञ्जाल ट्विटरमा सन्देश लेखेपछि हतारहतार आयोजना गरिएको भेटका क्रममा दुई नेताले दुई कोरियाबीचको सिमा रेखामा आपसमा हात मिलाए । त्यसपश्चात ट्रम्प केही बेरका लागि उत्तर कोरियाली भूमिमा नेता किमसँगै उभिए जुन क्षणलाई दुई देशबीचको कूटनीतिको सांकेतिक कोसेढुंगा मानिएको छ ।

सन् १९५३ मा दुई कोरियाबीच हतियार बिसाउने सम्झौता गरिएको रेखासम्म कैयौँ अमेरिकी राष्ट्रपतिहरूले भ्रमण गरिसकेका छन् । ती सबै भ्रमणका बेला दक्षिण कोरियालाई अंेरिकाको समर्थनप्राप्त छ भन्ने स्पष्ट सन्देश गएको हुन्थ्यो ।तर यसपटक ट्रम्पले त्यो सीमा क्षेत्रको भ्रमणलाई हेर्ने दृष्टिकोणमा नै केही फेरबदल ल्याइदिए ।

उनले दुरबिनहरू र बमप्रतिरोधक ज्याकेटको सट्टा आफूले सधै पहिरिने जस्तो सुट लगाएर त्यहाँ पुगिदिए। किमसँगको उनको भेट र उत्तर कोरियाली भूमिमा उनले राखेको पाइलाले नयाँ इतिहास रचिदियो ।

‘यो ठूलो सम्मान हो । थुप्रै प्रगतिहरू हासिल गरिएको छ । यो वास्तवमैँ ठूलो मित्रता भएको छ,’ उत्तर कोरियाली नेताका बारेमा ट्रम्पले भने, ‘यो विश्वकै लागि ठूलो दिन हो,’

भेटपछि मुस्कुराएका नेता किमले यस्तो प्रतिक्रिया दिए, ‘मलाई विश्वास छ कि यो विगतको दुर्भाग्यपूर्ण इतिहासलाई नष्ट गर्ने र नयाँ भविष्यका लागि प्रस्थान गर्ने अभिव्यक्ति हो ।’

दुई नेताहरूले हात मिलाएपछि दक्षिण कोरियाली राष्ट्रपति मुन जे–इन पनि उनीहरू सँगै देखिएका थिए । त्यसपछि किम दक्षिण कोरियाली भूमिमा आए, र ट्रम्पसँगै उभिएर पत्रकारहरू सामु विरल प्रतिक्रिया दिँदै आफूहरूबीचको भेट उनी र ट्रम्पबीचको ‘गजब’को सम्बन्धको प्रतीक भएको बताए । ट्रम्पले भेट ‘साच्चै नै ऐतिहासिक’ क्षण भएको बताउँदै उनी दुई कोरियाबीचको ‘सीमा पार गर्न पाउँदा गौरवान्वित भएको’ बताए ।

सोलस्थित बीबीसी सम्वादाता लरा बिकर आफ्नो विश्लेषणमा लेख्छिन्, ‘धेरै मानिसहरूले आजका तस्बिरहरू हेर्दैछन् र आफ्नै आँखालाई विश्वास गरिरहेका छैनन् । त्यसमा म पनि पर्दछु ।’

सिमानामा हात मिलाएको क्षण जत्तिनै अनौठो लागेपनि अमेरिका र कोरियाबीच अझै कार्यगत तहमा वार्ताहरू हुन नसकेको उनी औंल्याउछिन् । अझै पनि दुवै देशले परमाणु अस्त्र निरस्त्रीकरणको मुद्दालाई गहन ढंगले हेर्ने इच्छा देखाएका छैनन् ।

उत्तर कोरियासँग परमाणु अस्त्र छ । त्यसलाई नष्ट गर्ने तर्फ प्रगति हुन सकेको छैन । तथापि बिकर आइतवारको ऐतिहासिक ट्रम्प–किम हातमिलाईको क्षणलाई असाधारण मान्दछिन् । त्यसले दुई नेताबीच व्यक्तिगत रूपमा मेलमिलाप हुन सक्ने देखिन्छ । तर त्यसले आउने दिनमा के कस्तो फल दिने हो त्यो अझै प्रष्ट छैन । त्यो आजको ऐतिहासिक भेटको वास्तविक परीक्षा हुनेछ ।

पर्दा पछाडि र बन्द कोठामा हुने कूटनीतिका लागि कुनै समय खर्च नगरिएको हुनाले आउनेतवारको भेटलाई धेरैले फगत एउटा फोटो खिच्ने अवसर हुने अनुमान गरेका थिए । तर यो नाटकीय भेटघाटलाई परमाणु अस्त्र निरस्त्रीकरण प्रति दुवै पक्षको प्रतिबद्धताका अथ्र्याइने छ ।

उत्तर कोरियासँगका वार्ता र उसलाई विवादास्पद परमाणु अस्त्र कार्यक्रम परित्याग गर्न मनाउने प्रयास गत वर्ष सिंगापुरमा ट्रम्प र किमबीच भएको ऐतिहासिक बैठकको बेला उत्कर्षमा पुगेको थियो । त्यतिबेला दुवै पक्षले कोरियाली प्रायद्वीपको ‘पूर्ण निरस्त्रीकरण’को लागि प्रतिबद्धता जनाएका थिए । तर उनीहरूले त्यसको अर्थ के हुनेछ भनेर प्रष्ट पार्न सकेनन् ।

गत फेब्रुअरीमा भियतनामको हनोइमा भएको अर्को शिखर बैठकमा त्यस विषयमा थप प्रगति हुने आशा गरिएको थियो । तर त्यतिबेला उत्तर कोरियाले परमाणु कार्यक्रम बन्द गर्ने र त्यस्को बदलामा ऊ माथि लगाइेका प्रतिबन्धहरू हटाउने गरी कुनै सहमति जुट्न सकेन ।

हनोइ वार्ता विना कुनै सहमति टुंगिएकोले उत्तर कोरियामाथिका प्रतिबन्धहरू फुकुवा हुने गति वा रफ्तारका विषयमा कुनै टुंगो लागेन । त्यसपछि दुईपक्षीय वार्ताहरू अवरुद्ध रहेका छन्। तथापि ट्रम्प र किमले हालै आपसमा पत्रहरूको आदानप्रदान भने गरेका छन् ।

अंग्रेजीमा डिमिलिटराइज्ड् जोन वा डीएमजेड् भनिने दुई कोरियाबीचको सीमा क्षेत्रको असैनिकीकृत क्षेत्र करिब ४ किलोमिटर चौडा र २५० मिटर लामो छ । सन् १९५३ मा दुई कोरियाबीचको युद्धको समाप्तिपछि त्यसले नै दुई कोरियालाई विभाजन गरेको छ ।

असैनिकीकृत शब्दको अर्थमा जाने हो भने त्यहाँ कुनै सैनिक वा सैन्य सामग्री राखिनु हुँदैन । तर वास्तविकता यो हो कि यो नै विश्वकै सम्भवत: सबैभन्दा धेरै सैन्य क्रियाकलाप हुने सीमा क्षेत्रहरू मध्येको पर्दछ ।

पान्मुन्जोम गाउँमा रहेको संयुक्त सुरक्षा क्षेत्र सैन्य सीमा रेखा नजिकै पर्दछ । यही क्षेत्रमा दुई कोरियाबीचका वार्ताहरू हुने गरेका छन् । प्राविधिक रूपमा अहिले पनि युद्धकै अवस्थामा रहेका दुई कोरियाबीच सम्बन्ध सुधार भएको अवस्थामा यो क्षेत्रमा पर्यटकहरू पनि जान सक्छन् । पूर्व अमेरिकी राष्ट्रपति बिल क्लिन्टनले एक ताका यसलाई ‘विश्वकै सबैभन्दा डरलाग्दो ठाउँ’ भनेका थिए ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *