एजेन्सी
पाकिस्तानी अलराउण्डर शोएब मलिकले एकदिवसीय अन्तर्ाष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । ३७ वर्षीय क्रिकेटर मलिकले पाकिस्तानको समूह चरणको अन्तिम खेलसँगै सन्यास लिएका हुन् ।
तर उनी भारतविरुद्धको खेलपछि पाकिस्तानी टिमको परेका थिएनन् । बंगलादेशविरुद्धको खेलमा जित निकाले पनि रनरेटमा पछि पर्दै पाकिस्तान विश्वकपबाट बाहिरिएको छ । खेलपछि मलिक मैदानमा पुग्दा पाकिस्तानी खेलाडीले उनलाई ‘गार्ड अफ अनर’ दिएका थिए ।
२० वर्षे एकदिवसीय क्रिकेट करियरलाई विश्राम दिएको घोषणा गर्दै मलिकले भने, ‘मैले पहिला पनि भनेको थिए, यो मेरो विश्वकपपछि एकदिवसीय क्रिकेटबाट सन्यास लिन्छु भनेर, त्यसैले आज मैले यो घोषणा गरेको हुँ, जसले मलाई साथ दिए उनीहरु सबैलाई धन्यवाद ।’
मलिकले १९९९ को अक्टुबरमा वेस्ट इण्डिजविरुद्ध एकदिवसीय क्रिकेटमा डेब्यू गरेका थिए । पाकिस्तानका लागि २८७ एकदिवसीय क्रिकेटमा ९ शतक, ४४ अर्धशतकका साथ ७ हजार ५ सय ३४ रन बनाए । यसैगरी उनको नाममा १५८ विकेट पनि छ ।
यसैगरी ३५ टेस्ट म्याचमा ३ शतक र ८ अर्धशतकका साथ १८९८ रन बनाउँदा टी –२० सात अर्धशतक सहित २ हजार २ सय ६३ रन बनाएका छन् । पाकिस्तानका लागि उनले १११ टी–२० खेलेका छन् ।