सर्लाही घटनामा छानबिन समिति बनाउन सरकारलाई आपत्ति छैन : गृहमन्त्री थापा

समाचार
शेयर गर्नु होला

काठमाडाैं

गृहमन्त्री रामबहादुर थापाले शान्ति सुव्यवस्था कायम गर्ने सन्दर्भमा यही असार ५ गते सर्लाहीमा नेत्रविक्रम चन्द समूहका जिल्ला इन्चार्ज कुमार पौडेलको प्रहरीसँगको मुठभेटमा मृत्यु भएको बताएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर उनले जनपरिषद् गठन गर्ने, शान्ति सुरक्षामा खलल पुर्याउने र संविधान विरोधी गतिविधि गरेकाले प्रहरीसँगको मुठभेटमा पौडेलको निधन भएको बताए। उनले भने “ कथित जिल्ला इन्चार्ज पौडेलले प्रहरी देख्नेबित्तिकै फायर गरेको र प्रहरीले जवाफी फायर गर्दा ‘मिस फायर’ भैइ उनको निधन भयो।”

यस्तै यही असार १५ गते सर्लाहीको ईश्वरपुर नगरपालिका १३ मा पोखरीमा पौडी खेल्ने क्रममा डुबेर ११ वर्षीय अनुप रायको निधनपछि स्थानीयवासीले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेको बताउँदै उनले यातायात सञ्चालन गर्ने क्रममा प्रहरीसँगको झडपमा स्थानीयवासी सरोजनारायण सिंहको मृत्यु भएको बताए।

मृतक राय र सिंहको परिवारलाई जनही रु २५२५ हजार काजकिरियाका लागि प्रदान गरेको तथा बालक रायको परिवारलाई छुट्टै रु पाँच लाख क्षतिपूर्ति प्रदान गरिसकिएको उनको भनाइ थियो। बालक रायको मृत्यु र झडपबारे छानबिन गर्न सरकारले समिति गठन गरेको उल्लेख गर्दै गृहमन्त्रीले भने “ छानबिन समितिको प्रतिवेदन आएपछि दोषीमाथि कारवाही हुनेछ।”

गृहमन्त्रीको जवाफमाथि चित्त नबुझेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टीका सांसदले प्रतिप्रश्न गरेका थिए। गृहमन्त्री थापाले सांसदको प्रश्नको जवाफमा सर्लाही घटनाका बारेमा सदनले आवश्यकता महसुस गरेका खण्डमा छानबिन समिति बनाउन सरकारलाई कुनै आपत्ति नभएको बताए। उनले भने “ सर्लाहीको घटना दुःखद् हो, आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सरकार सचेत छ, जनतालाई दमन गर्ने नीति सरकारको छैन।”

काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले मुठभेटमा मारिएका भनिएका पौडेलको हात कसरी भाँच्चियो भन्दै उचित जवाफ दिन आग्रह गर्दै बालक रायको मृत्युका विषयमा न्याय माग्न गएका स्थानीयवासीमाथि प्रहरीले किन गोली चलाउनुपर्यो भन्ने प्रश्न गरेका थिए। सांसद खाँड र सोही दलका भरतकुमार शाह, उमा रेग्मी, देवेन्द्रराज कँडेल, डिला सङ्ग्रौला, मीनबहादुर विक, गगनकुमार थापा, मीना पाण्डे, दिलेन्द्रप्रसाद बडू र पार्वती डिसी चौधरीले पौडेलको मृत्यु र बालक रायको निधनका बारेमा छानबिन गर्न संसदीय समिति गठन गर्न माग गरे।

राजपाका राजकिशोर यादव र प्रमोद साहले पनि सर्लाही घटनाबारे सरकारले बनीबनाउ उत्तर दिएको भन्दै आपत्ति जनाए। उनीहरुले राज्यले खनेको कुवामा रायको डुबेर मृत्यु भएको हो, पौडी खेलेर होइन भने। यसपछि पनि गृहमन्त्री थापाको जवाफमा चित्त नबुझेको भन्दै काँग्रेस र राजपाका सांसदले आअफ्ना आसनबाट उठेर छानबिन समिति गठनको माग गरेका थिए।

परामर्शपछि आवश्यक निर्णय लीने

सभामुख कृष्णबहादुर महराले संसदीय समिति गठनसम्बन्धी मागका विषयमा आवश्यक परामर्श गरेर निर्णय लीने बताए। उनले भने“ आवश्यक परामर्शका लागि समय दिनुहोस्, उचित निर्णय हुन्छ, त्यसका लागि सकारात्मक छाैं, समय चाहियो।” सभामुख बोलिरहँदा काँग्रेस र राजपाका सांसदले आअफ्नो आसनबाट उठेर रोष्ट्रम अगाडि आइ नाराबाजी गरिरहे।

नाराबाजीका बीचमा नेकपाका खगराज अधिकारीले प्रमुख प्रतिपक्षी दलका सांसदले असंसदीय शब्द प्रयोग गरेको भन्दै ती शब्द हटाउन माग गरे। यसपछि सभामुख महराले बैठक १५ मिनेट स्थगन गरे। याेबीचमा सभामुखले सदन सुचारु गर्न गरेकाे पहल सकारात्मक नभएपछि प्रतिनिधिसभाकाे बैठक बुधबारसम्मका लागि स्थगित गरिएकाे छ।

त्यसाघि आजको बैठक शुरु हुनेबित्तिकै काँग्रेसका सचेतक पुष्पा भुसालले संविधान कार्यान्वयन गर्ने बेलामा शान्तिसुरक्षाको अवस्था दयनीय हुँदै गएको भनी चिन्ता व्यक्त गरिन्। उनले सर्लाहीका पौडेललाई मुडभेटका नाममा गोली प्रहार गरी हत्या गरिएको भनी भत्र्सना गर्दै सो घटनामा मानवाधिकार हनन भएको आरोप लगाइन्।

राष्ट्रिय जनता पार्टीका राजकिशोर यादवले लोकसेवा आयोगले संविधानप्रदत्त अधिकार खोसेको आरोप लगाउँदै सरकारले लाल आयोगको प्रतिवेदन सार्वजानिक नगरेकामा आपत्ति जनाए।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *