काठमान्डौ
नेपालका विभिन्न स्थानमा अविरल वर्षाका कारण ज्यान गुमाउनेहरूको सङ्ख्या ६० नाघेको नेपाल प्रहरीले जनाएको छ। नेपाल प्रहरीका सहप्रवक्ता रमेश थापाका अनुसार सोमवार बिहान ७ बजेसम्म देशका विभिन्न ठाउँमा गरी ६५ जनाको ज्यान गएको छ भने ३८ जना घाइते छन्।
मृत्यु हुनेमध्ये ४१ जना पुरुष र २४ जना महिला रहेको प्रहरीद्वारा प्राप्त विवरणमा उल्लेख छ। सबैभन्दा बढी ललितपुर, भोजपुर र रौतहटमा पाँच-पाँच जना गरी १५ जनाको ज्यान गएको छ। सिन्धुली, सिरहा, ओखलढुङ्गा र मकवानपुरमा चार-चार गरी १६ जनाको ज्यान गएको छ।
काभ्रे, धनुषा, खोटाङ र काठमाण्डूमा तीन-तीन जना गरी १२ जनाको ज्यान गएको प्रहरीले जनाएको छ। त्यसैगरी बारा, पर्सा, झापा, उदयपुर, महोत्तरी, धादिङ र डोल्पामा दुई-दुई गरी १४ जनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार देशका विभिन्न ठाउँमा अविरल वर्षाले ल्याएको बाढी तथा पहिरोका कारण ३० जना बेपत्ता भएका छन् भने १,४४६ जनाको उद्धार गरिएको छ।
खासगरी तराईका जिल्लामा कतिपय गाउँ नै डुबानमा परेकोले विस्थापितहरूको यकिन विवरण आउन बाँकी रहेको नेपाल प्रहरीका सहप्रवक्ता थापाले बताए।