इनरुवा
सप्तकोशी नदीमा पानीको बहाव क्रमिकरूपमा घट्दै गएको छ। तराई तथा पूर्वी पहाडी जिल्लामा लगातार परेको अविरल वर्षाका कारण बढेको पानीको बहाव अहिले विस्तारै घटदै गएको सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र भण्डारीले बताए।
दुई दिनदेखि वर्षा रोकिएपछि कोशी ब्यारेज भएर बग्ने सप्तकोशी नदीको पानीको बहावमा कमी आएको उनले बताए। उनका अनुसार सोमबार पछिल्लो समय गरिएको मापनानुसार कोशी ब्यारेजमा एक लाख ९३ हजार ७०५ क्युसेक प्रतिसेकेण्ड पानीको बहाव रहेको छ।
पानीको बहाव घटेपछि अहिले कोशी ब्यारेजको २८ वटा ढोका खुला गरिएको छ। पानीको बहावानुसार ढोका खुल्ला गर्ने र बन्द गर्ने भएकाले कुन बेला कतिवटा ढोका खोल्ने भन्ने विषयमा आफूहरु अनभिज्ञ रहेकोसमेत सशस्त्र प्रहरी निरीक्षक भण्डारीले बताए।
केही दिन अगाडि विभिन्न सञ्चारमाध्यममा आफ्नो नाम उद्धृत गरेर भारतीय पक्षको दबाबका कारण कोशी ब्यारेजको ढोका खोल्न नमानेको समाचारमा आफूलाई केही जानकारी नभएको र यो विषय ‘कन्ट्रोल रुम’ले हेर्ने भएकाले आफूलाई कन्ट्रोल रुमबाट आएको जानकारी बाहिर दिने गरेको प्रहरी निरीक्षक भण्डारीले बताए।
कोशी ब्यारेजमा पानीको बहाव हेरेर ढोका खोल्ने र बन्द गर्ने भएकाले यस विषयमा आफू अनभिज्ञ रहेकोसमेत उनले स्पष्ट पारे।