काठमाडौँ
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बजारमा एलपी ग्यास सहज नबनाए सेना र प्रहरी लगाएर वितरण गरिने बताएका छन ।
दैनिक मागभन्दा बढी आयात हुँदा पनि बजारमा ग्यास नपाइेको भन्दै उहाँले ग्यास उद्योगी र नेपाल आयल निगमका प्रतिनिधिलाई सोमबार मन्त्रालयमा बोलाएर उक्त चेतावनी दिएका हुन । सो अवसरमा मन्त्री भट्टले व्यवसायीहरूको नाफा सरकारले तोकिदिएको चर्चा गर्दै सङ्कटको फाइदा उठाएर कालोबजारीको प्रयास नगर्न व्यवसायीहरूलाई आग्रह गरेका छन ।
उनले भने, “मेरो आग्रह छ, अहिले उपभोक्ताको जुनसुकै सिलिन्डर पनि साटिदिनुहोस्, विश्वव्यापी सङ्कटका बेला नाफा, घाटा नहरौँ, राज्यलाई सहयोग गर्नुहोस् अन्यथा हस्तक्षेप हुन्छ ।”
मन्त्री भट्टले तत्काल ग्यास सहज नबनाए डिलरलाई कारबाहीसमेत गरिने बताएका छन । नेपाल आयल निगमले आयात बढाइेको, वितरण पनि नियमित भएको तर उपभोक्ताले ठूलो परिमाणमा मौज्दात राख्दा समस्या रहेको तर केही दिनमै सहज हुने जनाएको छ ।
कोरोना भाइरसको त्रासले नभैइ होलीका अवसरमा नियमित आपूर्ति नहुँदा समस्या भएको ग्यास उद्योगीहरूले जनाएका छन् ।