एजेन्सि
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का प्रमुख टेड्रोस एढानोम गेहब्रेयससले कोरोनाभाइरस सङ्क्रमणको प्रकोप तीव्र गतिमा फैलिरहेको भन्दै चेतावनी दिएका छन् । पछिल्लो समय यसको फैलावट दिनेपिच्छे व्यापक बन्दै गएको छ ।
अहिले संसारभरि तीन लाखभन्दा धेरैमा सङ्क्रमण पाइेको भन्दै उनले अझैपनि प्रकोपको गतिलाई परिवर्तन गर्न सकिने बताएका छन् । यसका लागि वेलैमा गम्भीर भएर कदम चाल्नुपर्ने डब्लुएचओको भनाइ छ ।
प्रत्येक सङ्क्रमण परीक्षण गरेर तथा सङ्क्रमित व्यक्तिको सम्पर्कमा भएका अन्य व्यक्तिलाई अलग्याएर यसको फैलावटको गति कम गर्न सकिने उसले बताएको छ। बीबीसीका अनुसार चीनको वुहानमा कोरोना भाइरसको पहिलो केस भेटिएको ६७ दिनपछि १ लाखमा मानिसमा यसको सङ्क्रमण फैलिएको थियो ।
विश्वभरि संक्रमितको संख्या दुई लाख पुग्न अर्को ११ दिन लाग्यो भने तीन लाख पुग्न जम्मा ४ दिन लाग्यो । याे भनेकाे पछिल्लाे ४ दिनमा मात्र एक लाख नयाँ संक्रमितहरू देखापरेका हुन् । यसबाट यसको फैलावटको गति सजिलै अनुमान गर्न सकिन्छ ।