काठमाडाैं
कैलालीको त्रिनगरमा सुरक्षाकर्मी र सर्वसधारणबीच झडप भएको छ। भारतबाट आएका नेपाली जबरजस्ती नेपाल प्रवेश गर्न थालेपछि कैलालीको त्रिनगर गौरीफन्टा नाकामा झडप भएको त्यहाँको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
सशस्त्र प्रहरी बल मुख्यालयका प्रवक्ता प्रवीण श्रेष्ठका अनुसार सीमा क्षेत्रबाट नेपाल छिर्न खोजेपछि उनीहरुलाई सशस्त्र प्रहरीले रोकेको थियो। नेपाल प्रहरी र सशस्त्र प्रहरीमाथि आक्रमण गरेपछि सामान्य झडप भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।
त्रिनगर नाकामा सुरक्षाकर्मी र भारतबाट आएका नेपालीहरुवीच सामान्य झडप भएको हो । अहिले परिस्थिति नियन्त्रणमा आइसकेको छ। कैलालीको अत्तरियाका भक्तराज भट्टले आफूहरुलाई नेपाल जान दिनुपर्ने माग गरे । पाँच दिन लगाएर भारतको बैंगलोरबाट धनगढीको त्रिनगर नाका पुग्यौ तर अहिले आफनै देश जान नपाएर नाकामै अलपत्र छौ उनले भने ।
सरकारले मंगलवार विहानदेखि निषेधाज्ञा (लकडाउन) गरेको छ। तर जिल्ला प्रशासन कार्यालय कैलालीले सोमबार दिउँसो २ बजेदेखि नै लागू हुने गरी जिल्लाभर निषेधाज्ञा जारी गरेको भएपनि सोमबार साँझसम्म छिर्न दिएको थियो।