सरकारी घोषणा उल्लङ्घन गरे कारबाही

समाचार
शेयर गर्नु होला

हेटौँडा

चीनमा सुरु भएर विश्वव्यापी बन्दै गएको कोरोना भाइरस (कोभिड–१९) को सम्भावित सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी सरकारले सर्वसाधारणलाई घरबाट निस्कन रोक लगाएसँगै बाग्मती प्रदेशका जिल्ला सदरमुकामलगायतका बजार मङ्गलबार सुनसान बने ।

प्रदेशको राजधानी हेटौँडालगायतका प्रदेशका विभिन्न जिल्लामा बिहानैबाट घरबाट बाहिर ननिस्कन माइकिङ गरी आग्रह गरिएको थियो । साथै प्रहरी परिचालन गरी अत्यावश्यक काममाबाहेक हिँड्डुल गर्नेलाई र सवारीसाधनको आवागमनमा कडाइसँगै रोक लगाइेको थियो ।

बिहानको समयमा सर्वसाधारण र सवारीसाधन सञ्चालकले अटेर र लापरबाही गरेका थिए । प्रहरीको आग्रह र कडाइपछि हिँड्डुल गर्नेको सङ्ख्यामा कमी आएको थियो । कोरोना भाइरसको जोखिम नियन्त्रण तथा रोकथाम गर्न सोमबार सरकारले मङ्गलबार बिहान ६ बजेदेखि चैत १८ गते साँझ ६ बजेसम्म सर्वसाधारणलाई घरबाट निस्कन रोक अर्थात् ‘लकडाउन’ गर्ने घोषणा गरेको छ ।

अनुमति प्राप्त सवारीसाधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्नेबाहेक अन्य निजी तथा सार्वजनिक सवारीसाधन आवत–जावतमा पूर्ण रोक लगाइेको प्रहरीले जनाएको छ । ‘लकडाउन’सँगै औषधि, खाद्यवस्तु खरिदजस्ता अत्यावश्यक काममाबाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन नपाउने व्यवस्था गरिएको छ ।

सङ्क्रमण रोग ऐन २०२० को दफा २ को उपदफा (२) बमोजिम कोरोना भाइरस (कोभिड–१९) को रोकथाम र निर्मूल गर्न लकडाउन गरिएको भन्दै उल्लङ्घन गरिएमा कारबाही गरिने सरकारले जनाएको छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *