अमेरिकामा कोरोनाभाइरसले ‘दुई लाखको मृत्यु हुनसक्ने’ ट्रम्प कार्यदलका एक अग्रणी विज्ञको चेतावनी

अन्तर्राष्ट्रिय
शेयर गर्नु होला

बीबीसी

अमेरिकी सरकारका एकजना अग्रणी विज्ञले कोरोनाभाइरस महामारीले दुई लाख अमेरिकीको ज्यान लिनसक्ने र दशौँलाखमा उक्त भाइरसको सङ्क्रमण हुनसक्ने चेतावनी दिएका छन्। राष्ट्रपति डोनल्ड ट्रम्पको कोभिड १९ कार्यदलका एकजना मुख्य अनुहार सरुवारोगविज्ञ डा. एन्थोनी फाउचीले आइतवार त्यस्तो बताएका हुन्।

अमेरिकामा, अहिले विश्वमै सबैभन्दा धेरै सङ्ख्यामा १ लाख ४० हजारभन्दा बढी पुष्टि भएका कोरोनाभाइरसका सङ्क्रमितहरू छन्। सीएनएनसँग कुरा गर्दै डा. एन्थोनी फाउचीले ‘अहिलेको अवस्थामा मृत्यु हुनेको सङ्ख्या एकदेखि दुई लाख हुनसक्ने’ बताएका थिए। तर उनले तत्कालै त्यस्तो सङ्ख्या ‘सङ्क्रमणको तीव्र अवस्थामाझ गरिएको’ अनुमान भन्दै ‘आफू त्यसमा अडिग रहन नचाहेको’ बताए।

डाक्टर फाउचीले भने: “न्यूयोर्कमा गम्भीर समस्या झेलिसकिएको छ, न्यूअर्लेन्समा गम्भीर समस्या छ र अन्य ठाउँहरू त्यसैगरी गम्भीर समस्या विकसित हुने क्रममा छन्।” उनले जाँचहरू कार्यान्वयन भएमा केही प्रतिबन्धहरू कम गर्न सकिने बताए।

पुष्टि भएका सङ्क्रमणका सङ्ख्यामा गतसाता अमेरिकाले चीन र इटलीलाई उछिनेको थियो। तर त्यहाँको मृत्युदर भने इटली, स्पेन र चीनभन्दा कम छ। अमेरिकाले दैनिक एक लाखभन्दा धेरै भाइरसको जाँच गरेका कारण सङ्क्रमितको सङ्ख्या उच्च देखिएको ट्रम्पले बताएका छन्।

मिसिगन राज्यका गभर्नर ग्रेचन वित्मरले यसाघि सीएनएनसँगैको कुराकानीमा ‘नर्सहरूले आफ्नो कामको पूरै समय एउटै मास्क लगाएर बिताएको’ बताएका थिए। उनले उक्त मास्क समेत ‘बिरामीले लगाउने खालको’ भएको बताएका थिए।

यसैबिच स्वास्थ्य सामग्रीहरू बोकेको पहिलो चिनियाँ विमान अमेरिका पुगेको छ। त्यसमा रहेका पञ्जा, शरीर ढाक्ने सुरक्षित पहिरन (गाउन) र मास्क यस महामारीबाट सबैभन्दा बढी प्रभावित न्यूयोर्क, न्यूजर्सी एवं कनेटिकट राज्यमा वितरण गरिने जनाइेको छ।

अमेरिकामा अहिले सबैभन्दा ठूलो चिन्ता भेन्टिलेटरको अपर्याप्त व्यवस्थालाई लिएर भैरहेको छ। ट्रम्पले भने मिसिगन राज्यकै डेट्रोइट सहरमा एउटा कार निर्माता कम्पनीलाई उक्त कामका लागि आग्रह गरेका थिए। तर पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले कतिपय अस्पतालहरूले पसलेहरूले जसरी बिरामीहरूलाई आवश्यक पर्ने भेन्टिलेटर र अन्य उपकरणहरू लुकाएको आरोप लगाएका छन्।

स्वास्थ्य सामग्रीका आयात समेत अब आउदो तीस दिनसम्म हुने बताइेको छ। आगामी दिनमा चीनबाहेक मलेसिया र भियतनामबाट समेत अमेरिकी स्वास्थ्यकर्मीलाई अत्यावश्यक देखिएका सुरक्षा सामग्री आपूर्ति गरिनेछन्। न्यूयोर्क सहरका मेयरले स्थानीय अस्पतालहरूमा मौजुदा रहेका स्वास्थ्य सामग्रीहरू एक साताभित्रै सकिने बताएका छन्।

अमेरिकाका आधाजसो सङ्क्रमित न्यूयोर्क राज्यमा छन्। ट्रम्पले अैतवार उक्त राज्यलाई क्वारन्टीनमा राख्नेबारे विचार गरेको बताए पनि अहिले ‘त्यो आवश्यक नपर्ने’ भन्दै पछि हटेका थिए। न्यूयोर्कमा गभर्नर एन्ड्रिउ कोमोले क्वारन्टीनलाई ‘निरर्थक’ बताएपछि आफू पछाडि हटेको ट्रम्पको भनाइ थियो। त्यसको विकल्पमा ‘कडा यात्रा प्रतिबन्धहरू’ लगाइेको र त्यो एप्रिल अन्त्यसम्म जारी रहने ट्रम्पले बताए।

ट्रम्पले आउदा दुई सातामा मृत्युदरको उच्च विन्दू पुग्ने भएकाले सरकारी मार्गदर्शनहरू विस्तारित गरिएको बताएका छन्। जसमा उच्च प्रभावित न्यूयोर्क, न्यूजर्सी एवं कनेटिकट राज्यका मानिसहरूलाई अत्यावश्यक बाहेकका अवस्थामा यात्रा नगर्न भनिएको छ।

सोमवार संसारभर ६ लाख ८५ हजार भन्दा बढी मानिसमा कोरोनाभाइरसको सङ्क्रमण पाइेकामा ३० हजार भन्दा बढीले ज्यान गुमाएका छन्। इङ्ल्याण्डकी एक वरिष्ठ स्वास्थ्य अधिकारीले ब्रिटेनको अवस्था ‘सामान्य हुन’ ६ महिनासम्म लाग्नसक्ने बताएकी छन्।

तीन साताको लकडाउन सामना गरिरहेको भारतमा त्यहाँका राज्य सरकारहरूलाई आफ्ना राज्यका सीमाहरू बन्द गर्न भनिएको छ। स्पेन, फ्रान्स र इटलीमा सङ्क्रमितहरूको मृत्यु हुने क्रम बढ्दो छ। तर इटलीमा मृत्युको बढ्दो सङ्ख्या अघिल्ला दुई दिनभन्दा कम छ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *