काठमाडौं – भारतमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलाउन भूमिका खेलेको मानिएको धार्मिक सभामा सहभागी भएको आशंकामा ११ जनालाई नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखिएको छ ।
उनीहरु मार्च १ देखि १५ सम्म भारतको नयाँ दिल्लीमा भएको मस्लिमहरुको धार्मिक सभा ‘निजामुद्दिन मरकज’मा सहभागी भएर फर्किएको बताइेको छ । उनीहरूलाई प्रहरीले पर्सा जिल्लाको पतेर्वा सुगौली गाउँपालिकाको कंचनपुर टोलबाट नियन्त्रणमा लिएको हो ।
गाउँलेहरुको सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरु गाउँमा खुला रुपमा आवतजावत गर्न थालेपछि स्थानीय संक्रमण हुन सक्ने त्रासमा थिए । स्थानीयहरूले उनीहरू बंगलेवाले मस्जिदको धार्मिक सभामा सहभागी भएको आशंकामा समातेर प्रहरीलाई खबर गरेका थिए।
मार्च १ देखि १५ सम्म दिल्लीमा भएको धार्मिक सभामा २० जना नेपालबाट आएको र त्यहाँ रहेका १३ विद्यार्थी पनि सहभागी भएको यसाघि खुलेको थियो । तर उनीहरु दिल्लीमै छन् ।