हेटौँडा
वाग्मती प्रदेशको राजधानी हेटौँडामा खाना पकाउने ग्यासको समस्या समाधान भएको छ। ग्यास उद्योगले आधा ग्यास सिलिन्डर बिक्रीवितरण शुरु गरेपछि ग्यासको अभाव हुने समस्या हटेको बताइेको छ।
नेपाल आयल निगमको निर्देशनमा प्रत्येक आधा सिलिन्डर ग्यास भरेर मात्र वितरण गरिएपछि हेटौँडा बजारलगायत अन्य बजार क्षेत्रमा पनि ग्यासको समस्या हटेको छ। ग्यास बिक्रेताले ठेलामा राखेर घरघरैमा ग्यास पुर्यायाएको उपभोक्ताले बताएका छन्। हाल हेटौँडामा नारायणी, नेपाल, मनोज, कोशी र त्रिशूल लगायत ग्यास बिक्रीवितरण हुने गरेको छ।
कोरोनाको कारणले ग्यास आयात नभैइ अभावको समस्या हुने आशङ्कामा उपभोक्ताले अत्यधिक सिलिन्डर सञ्चय गरेका कारणले समस्या आएको नारायणी डिलर ग्यासका सञ्चालक रामप्रसाद भण्डारीले बताए ।
निगम अमेलेखगञ्ज डिपोका प्रमुख भरत रेग्मीले उपभोक्ताको मागानुसार ग्यास उपलब्ध भैरहेको बताए । रक्सौल नाकाबाट दैनिक ग्यास बुलेट आउने गरेको उहाँको भनाइ छ ।यसैबीच कोरोना भाइरसबाट सुरक्षित बनाउनका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरले लकडाउनलाई कडा पारेको छ।
सडक मानवलाई दैनिक खाना खुवाइँदै
भक्तपुर जहाँ संकट त्यहाँ मानवीय आस्था भन्ने मूल उद्देश्यका साथ २०७२ सालको भूकम्पमा पीडितलाई सहयोग गर्न स्थापित मानवीय आस्था नेपालले वर्तमान संकटमा सडक मानवलाई दैनिक खाना खुवाउन शुरु गरेको छ।
कोभिड–१९० संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनका कारण भोकै परेका भक्तपुरका सडक मानवलाई मानवकल्याण समाजसँंगको सहकार्यमा दैनिक खाना खुवाउन शुरु गरिएको हो। भूकम्पका समय भक्तपुरमा भएको विनाश र हनुमानघाटमा लहरै रहेका कयौँ शव देखेर युवा नेता महेश बस्नेतले तत्काल भूकम्प पीडितको खोज, उद्धार र राहत वितरणका लागि स्थापना गरेको सो संस्थाले गत बिहीबारदेखि दैनिक एक छाक सडक मानवलाई खाना खुवाउँदै आएको छ।
भक्तपुरका सडक, पाटी, मन्दिरलगायत क्षेत्रमा बसिरहेका ६० जनाको पहिचान गरी उनीहरु बसेकै ठाउँमा पुगेर खाना वितरण गर्न थालिएको हो। नेकपाका केन्द्रीय सदस्य बस्नेतले लकडाउनको कारण भक्तपुर जिल्लाका सडकपेटी र सार्वजनिक मन्दिर पाटीपौवामा बस्दै आएका सडक मानवलाई भोकै सुत्नु पर्ने अवस्था आएको जानकारी पाएलगत्तै उनीहरुको खोजी गरी खाना खुवाउने व्यवस्था गरिएको जानकारी दिए।
सानोठिमी, नयाँठिमी, कौशलटारलगायत विभिन्न ठाउँमा रहेका सडक मानवलाई लकडाउनपछि उद्धार गरेर व्यवस्थित गरिने योजना रहेको उनले बताए । भुस्याहा कुकुरलाई खाना खुवाइँदै मध्यपुरथिमि नगरपालिका ३ का नरेश रंजितको नेतृत्वको युवाको समूहले सडकमा रहेका भुस्याहा कुकुरलाई दैनिक खानेकुरा खुवाउने अभियान शुरु गरेको छ।
लकडाउनका बेलामा भोकै भएका कुकुरले कुनै पनि बेलामा दुर्घटना निम्त्याउन सक्ने भएकाले कुकुरलाई खाना खुवाउने अभियान शुरु गरिएको रंजितले बताए ।
गाउँमा बाह्य मानिस जान प्रतिबन्ध
रसुवा– उत्तरी रसुवाको आमाछोदिङ्मो गाउँपालिकाले आफ्नो इलाकामा बाह्य व्यक्ति प्रवेशमा प्रतिबन्ध लगाएको छ। गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङका अनुसार सरकारले लागू गरेको लकडाउनबाट गाउँबासी अनुशासित भए पनि बाहिरबाट आउनेले कोभिड १९ भित्र्याउन सक्ने आशंका बढेकाले गाउँपालिकाको निर्णयबमोजिम आफ्नो इलाका क्षेत्रमा बाहिरबाट आउने मानिसको प्रवेशमा प्रतिबन्ध लगाइेको हो।
देश लकडाउनका बेला अन्य स्थानका मानिस आवतजावत बन्द भैसकेका अवस्थामा सडकमार्गमै रोक लाउन भने नपाइने प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए । यदि कुनै मानिस लकडाउनको उल्लंघन गरी हिँडेर गाउँघरमा प्रवेश गरे नियन्त्रणमा लीइ नजीकको सुरक्षा निकायमा बुझाउन उपयुक्त हुने बताउँदै प्रजि भण्डारीले सुरक्षा निकाय, स्वास्थ्यकर्मीसमेत हिँड्ने सडक मार्गमा कहीँकतैबाट अवरोध नहुने जानकारी दिए । रासस