काठमाडौँ
कोरोना भाईरस को सम्भावित जोखिम हुन नदिन लकडाउन जारी रहेपछि नेपालमा रोकिएका दुई हजार ३७० विदेशी नागरिक स्वदेश फर्किएका छन् ।
पदयात्रालगायत विभिन्न सिलसिलामा यहाँ रहेका विदेशीलाई नेपाल पर्यटन बोर्डले सरोकारवाला निकायसँगको समन्वयमा काठमाडौँसम्म ल्याउन सहजीकरण गरेको थियो । यसरी स्वदेश फर्किएकामा जर्मनीका ९०७, फ्रान्सका ६०८, अमेरिकाका ३०२, अष्ट्रेलियाका २५६, डच नागरिक १२२, रेक रिपब्लिकनका १०२ र मलेसियाका ६६ जना रहेका छन् ।
काठमाडौँमा जम्मा भएका विदेशीलाई उनीहरुकै मुलुकले जहाज चार्टर्ड गरी लगेका हुन् । अहिले एक हजार ३७८ विदेशी नागरिक बोर्डको सम्पर्कमा आएका छन् । अन्य विदेशी कहाँ कति सङ्ख्यामा छन् भन्ने कुनैपनि निकायसँग विवरण नभएको बोर्डले जनाएको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनन्जय रेग्मीले आजसम्म दुई हजार ३७० विदेशी नागरिकको उद्धार गरी उनीहरुको मुलुक फर्काइएको बताउनुभयो ।