बीबीसी
सरकारले नेपालमा कोरोनाभाइरसको सङ्क्रमण देखिएका व्यक्तिसँग सम्पर्कमा आएका मानिसहरूलाई विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुसार पहिचान गर्ने प्रकिया पूरा भएको र उनीहरूमध्ये कसैमा पनि कोभिड-१९ नदेखिएको जनाएको छ।
‘कन्टयाक्ट ट्रेसिङ’ गर्ने जिम्मा पाएको इपिडिमिओलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका प्रमुखले देशभित्र प्रवेश गरेदेखि घर र समुदाय पुगेको अवस्थासम्म पीडितको सम्पर्कमा पुगेका व्यक्तिहरूलाई पहीचान गरी उनीहरूको नमूना सङ्कलन गरिएको बताए।
उनले सङ्क्रमितसँगै यात्रा गरेर नेपाल आएका दुई जनाको सम्पर्क पत्ता नलागेकाले उनीहरूको परीक्षण नगरिएको जानकारी दिए। तर सङ्क्रमितसँग सम्पर्क भएको भनिएका व्यक्तिहरूको पहिचान गर्ने काम सम्पन्न भएको र कुनै जोखिम नरहेको उनले बताए।
नेपालमा अहिलेसम्म देखिएका नौ वटा घटनामा एकजना बिरामी निको भएका छन् भने सात जनाले विदेशबाट सङ्क्रमण भित्र्याएको र एउटा घटनामा विदेशबाट आएका व्यक्तिका आफन्तमा सङ्क्रमण सरेको पाइएको थियो।
स्वास्थ्य मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा। विकास देवकोटाले विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुसार पहिचानको काम सम्पन्न गरिएको बताएका हुन्। उनले भने, “आठवटा घटना देखिएका छन्, जसमध्ये धनगढीमा चारवटा, बाग्लुङमा दुईवटा र टेकु अस्पतालमा दुईवटा रहेका छन्।”
“विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुसार गर्नुपर्ने कन्ट्याक्ट ट्रेसिङका सबै काम सम्पन्न भएको छ।”
अधिकारीहरूले सङ्क्रमितहरूसँग आन्तरिक तथा वाह्य उडानमा यात्रा गरेका व्यक्तिहरू पहिचान गरिएको जनाएका छन्
उक्त काम सम्पन्न भएको भन्दै इपिडिमिओलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरेको थियो।
त्यसका महानिर्देशक डा। वासुदेव पाण्डेले भने, “हामीले पहिलोदेखि आठौँ सङ्क्रमण देखिएका व्यक्तिको सम्पर्कमा आएकाहरूको पहिचान खोज्ने काम विस्तृत रूपमा गरेका छौँ।”
“र, डब्ल्यूएचको मापदण्ड अनुसार उनीहरूसँग नजिक पुगेका व्यक्तिहरूको परीक्षण गर्दा पनि कसैमा पनि कोरोनाभाइरसको सङ्क्रमण देखिएको पाइएन।”