राजधानीको उत्तरपूर्वी भेगमा तीव्र गतिमा ‘र्यापिड टेस्ट’

समाचार
शेयर गर्नु होला

काठमाडाैं

राजधानीको उत्तरपूर्वी भेगका नगरपालिकामा कोरोना भाइरसको सङ्क्रमण फैलिएनफैलिएको पत्ता लगाउन तीव्र गतिमा र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) शुरु भएको छ। यही वैशाख १ गते कागेश्वरी मनोहरा नगरपालिकाको मूलपानीमा गरिएको र्‍यापिड डाइग्नोस्टिक टेस्टमा वडा नं ९ को सनसिटी अपार्टमेन्टमा बस्ने तीन जनामा कोरोना पोजेटिभ देखिएपछि यस क्षेत्रका तीन नगरपालिकामा तीव्र गतिमा परीक्षण शुरु भएको हो। तीनै जनाको राष्ट्रिय प्रयोगशालामा गरिएको पिसीआर परीक्षणमा भने दुई जनाको पोजेटिभ र एक जनामा नेगेटिभ देखिएको स्वास्थ्य प्रतिवेदन प्राप्त भएको नगरपालिकाले जनाएको छ।

नगरपालिकाको तीन स्थानमा र्यापिड डाइग्नोस्टिक टेस्ट शुरु गरिएको प्रवक्ता राजाराम पुडासैनीले जानकारी दिए। नगरपालिकाको आलापोट र डाँछी स्वास्थ्य चौकी एवं मूलपानीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा र्‍यापिड डाइग्नोस्टिक टेस्ट भैरहेको छ।

हालसम्म आलापोटमा १८, थलीमा ३२ र मूलपानीमा ३६ जनाको र्यापिड डाइग्नोस्टिक टेस्ट भएको उनले बताए। सनसिटी अपार्टमेन्टमा केन्द्रीयस्तरबाटै २०० जनाभन्दा बढीको र्यापिड डाइग्नोस्टिक टेस्ट गर्दा सबैमा नेगेटिभ नै भेटिएको नगरपालिकाले जनाएको छ।

विदेशबाट आएकालाई खोजी खोजी र्यापिड डाइग्नोस्टिक टेस्ट गर्न थालिएको छ। यसैगरी रुघा, खोकी, ज्वरो आदि लक्षण देखीइ शङ्का लागेकालाई पनि यो परीक्षण गरिने जनाइेको छ। यसैगरी गोकर्णेश्वर नगरपालिकाको चार ठाउँमा र्‍यापिड डाइग्नोस्टिक टेस्ट शुरु भएको छ।

नगरपालिकाको नयाँपाटी स्वास्थ्य चौकी, गोकर्ण प्राथमिक अस्पताल, नेपाल मेडिकल कलेज र जोरापाटी चोकको याङ्ग्री अस्पतालमा गरी २४ जनाको र्यापिड डाइग्नोस्टिक टेस्ट गरिएको नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गानाले जानकारी दिए।

नगरपालिकाको वडा नं २ नयाँपाटीमा विदेशबाट आएका १५ जनाकै परीक्षण गर्दा नेगेटिभ देखिएको छ। यो वडामा धेरै मानिस बन्दाबन्दी शुरु भएपछि विदेशबाट आइ खुलारूपमा हिँड्दा स्थानीयवासी त्रसित थिए। प्रारम्भिक परीक्षणमा सबैमा नेगेटिभ भेटिएपछि त्रास हटेको २ नं वडाध्यक्ष कृष्णबहादुर पण्डितले बताए।’

शङ्खरापुर नगरपालिकामा ३७ जनाको र्‍यापिड डाइग्नोस्टिक टेस्ट गरिएको छ । पटाप स्वास्थ्य चौकीमा दूई, नाङ्लेभारे स्वास्थ्य चौकीमा पाँच, लप्सीफेदी स्वास्थ्यचौकीमा तीन, सुषमा कोइराला मेमोरियल अस्पतालमा १९ र इन्द्रायणी प्राथमिक स्वास्थ्य केन्द्रमा आठ जनाको परीक्षण गरिएकामा सबैमा नेगेटिभ देखिएको नगर प्रमुख सुवर्ण श्रेष्ठले जानकारी दिए।

विदेशबाट आएका सात जनाको अझै परीक्षण गर्न बाँकी रहेको सूचना आएकाले बिहीबारसम्म तिनको पनि प्रारम्भिक परीक्षण गरिने उनले बताए। सनसिटी अपार्टमेन्टको घटनापछि यस क्षेत्रमा सजगतासमेत अपनाइेको नगरापालिकाले जनाएको छ। रासस


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *