अमेरिकामा कोरोना भाइरस महामारीको रुप लिनुअघि सीआईए ले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई १२ पटक ध्यानाकर्षण गराएको खुलासा

अन्तर्राष्ट्रिय समाचार
शेयर गर्नु होला

एएनआइ

अमेरिकामा कोरोनाभाइरस महामारीको रुप लिनुअघि ‘सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी’(सीआईए)ले संक्रमणलाई लिएर राष्ट्रपति डोनाल्ड ट्रम्पलाई १२ पटक ध्यानाकर्षण गराएको खुलेको छ ।

बहालबाला अनुसन्धान अधिकारी र केही पूर्व अधिकारीले अमेरिकी अखबार द् वाशिंगटन पोष्टसँगको कुराकानीमा यसप्रकारको खुलासा गरेका हुन् ।

समाचार संस्था एएनआईका अनुसार राष्ट्रपति समक्ष दैनिक हुने संक्षिप्त बैठकमा सीआईएका अधिकारीहरुले जनवरी र फेब्रुअरी महिनामा संक्रमण फैल्न सक्ने जोखिमको बारेमा अवगत् गराएको उल्लेख गरेको छ । उक्त ध्यानाकर्षणको राष्ट्रपति ट्रम्पले उपेक्षा गर्नुभएको उहाँहरुको गुनासो छ । राष्ट्रपति ट्रम्पसँगको बैठकमा संक्रामक गतिविधिबारे अद्यावधिक सूचना पस्किएपनि उहाँले गम्भिरतापूर्वक नलिदा अमेरिका यस प्रकारको जोखिममा परेको उहाँहरुले तर्क गर्नुभएको छ । कोरोनाभाइरस संक्रमणबाट बुधबारसम्म कम्तिमा ५६ हजार बढीको मृत्यु भएको छ ।

फेब्रुअरी २६ मा राष्ट्रपति ट्रम्पले सार्वजनिक रुपमा आगामी दुई दिनभित्र नयाँ थपिने संक्रमित शून्यमा झर्ने दाबी गर्नुभएको थियो । त्यत्ति नै बेला अमेरिकामा संक्रमण समुदाय स्तरमा भुसको आगो सरह फैलिदै थियो । मार्च १० मा राष्ट्रपति ट्रम्पले संयमित हुन आग्रह गर्नुहुँदै केहीदिन भित्रै कोरोनाभाइरस बिलिन हुने बताउनुभएको थियो । विश्व स्वास्थ्य संगठनले मार्च ११ मा कोभिड–१९ को संक्रमणलाई विश्वब्यापी महामारी घोषणा गर्यो ।

वाशिंगटन पोष्टका दुईजना वरिष्ठ सम्वाद्दाता ग्रेग मिलर र एलन नकाशिमाका अनुसार अधिकारीहरुले यस प्रकारको चेताबनी दिइरहँदा राष्ट्रपति ट्रम्प इरानसँगको सुरक्षा मामिला र आफ्नो महाभियोगको छलफलमा ब्यस्त हुनुहुन्थ्यो ।

कोभिड–१९ बाट विश्वभरि संक्रमित भएकामध्ये करिब एक तिहाइ संक्रमित अमेरिकामा छन् ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *