पशुपतिनगर – इलामको माई नगरपालिका १० का दुर्गाप्रसाद तिम्सिना (दीपक)ले नागरिकताको प्रमाणपत्र पाएका छन । ४० वर्ष भारतको कोलकातामा जेल जीवन भोगेर केही दिन अघि माई नगरपालिका १० मा रहेको घर आ इ पुगेका दुर्गाप्रसाद तिम्सिना (दीपक)ले आज जिल्ला प्रशासन कार्यालय इलामबाट नागरिकताकाे प्रमाणपत्र लिएका हुन ।
उनको नागरिकता नम्बर ०३-०७-३२५१ हाे । इलामका प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले उहाँलाई नागरिकताको प्रमाणपत्र दिएका हुन । नागरिकता पाएपछि तिम्सिनाले आफूलाई खुशी लागेको बताए । २०१७ साल साउन २० गते जन्मनु भएका तिम्सिनाको जन्म दर्ता, नागरिक्ता अहिलेसम्म थिएन । तिम्सिनाको उपचार लगायत अन्य प्रक्रियाका लागि नागरिक्ता आवश्यक पर्ने भएपछि जिल्ला प्रशासन कार्यालय इलामको समन्वयमा नागरिकता बनाइेको हो ।
माई नगरपालिका १० नम्बर वडा कार्यालयबाट हिजो (बुधबार)नै दुर्गा प्रसादको नागरिक्ता बनाउनका लागि आवश्यक कागजपत्र तयार पारिएको थियो । जन्म दर्ता समेत नभएका तिम्सिनाको वडा कार्यलयमा विवरण राखी तीन जनाको नाता प्रमाणित र नागरिक्ताका लागि सिफारिस पत्र तयार पारिएको दुर्गाप्रसादका भतिज गोपाल तिम्सिनाले जानकारी दिए ।