काठमाडौँ – शिक्षा विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले कोरोनाको सङ्क्रमण बढ्दै गए पनि तत्काल बन्दाबन्दी नगरिने बताएका छन । कोरोना सङ्क्रमणबाट बच्नका लागि आवश्यक स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर अगाडि बढिने उनले स्पष्ट गरे ।
मध्यपुर थिमि नगरपालिकाको २५ औँ स्थापना दिवसको अवसरमा शनिबार आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले दुई सिफ्टमा विद्यालय सञ्चालन गरेर भए पनि बन्दाबन्दी भने नगरिने बताए । उनले कोरोनाबाट बच्नका लागि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन सबैमा आग्रह गरे ।
सरकारले भारतसँग सिमाना जोडिएका नाकामा कडाइ गरिरहेको भन्दै उनले कोरोनालाई हेल्चेक्र्याइँ भने नगर्न सबैमा आग्रह गरे। स्थानीय तहमा विभिन्न दलको प्रतिनिधित्व भएकाले विकासको नाममा राजनीति गर्न नहुने भन्दै निर्वाचनका क्रममा मात्र दलीय प्रतिस्पर्धा गर्नुपर्नेमा मन्त्री श्रेष्ठले जोड दिए । मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले स्थानीय सरकारको हैसियतमा करिब चार वर्षमा नगरपालिकाको मुहार परिवर्तन हुने गरी काम गरिएको बताए ।
बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले तीनै तहको समन्वयमा नेपालमा भौतिक विकासले गति लिएको बताए । २०५३ साल चैत १४ गते साबिकका चपाचो, बोडे, बालकुमारी, नगदेश, दिव्यश्वरी गाविस समेटिएर मध्यपुर थिमि नगरपालिका घोषणा गरिएको थियो ।गोरखापत्रबाट