काठमाडौं – संसद पुनस्र्थापनापछि प्रधानमन्त्री ओलीसँग सभामुख सापकोटाले पहिलो पटक आज भेट गरेका छन।प्रधानमन्त्री केपी शर्मा ओली र प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाबीच संसद बैठकलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज विहान ११ बजेपछि करिब दुई घण्टा छलफल भएको हो ।
सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्योपानेकाअनुसार सरकारको तर्फबाट तयार भएका विधेयक तथा संसद बैठकको प्रभावकारिता विषयमा छलफल भएको छ । प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच संसद विघटन र पुनस्र्थापनासम्म आइपुग्दा खासै राम्रो सम्बनध नरहेको सन्देश बाहिर गएकाबेला प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच भएको छलफलले सम्बन्ध सुधारमा सहयोग पुगेको विश्वास उनको सचिवालयले गरेको छ ।