काठमाडौँ — जनमत पार्टीका अध्यक्ष सीके राउतलाई ३५ दिनभित्र उपस्थित हुन नवलपरासी जिल्ला अदालतले म्याद दिएको छ।
आज राष्ट्रिय दैनिक पत्रिका गोरखापत्रमा एक सूचना प्रकाशित गर्दै अदालतले राउतविरुद्ध पक्राउ पूर्जीसहितको म्याद जारी गरिएकोमा घर नभेटिएको भन्दै ३५ दिनभित्र अदालतमा उपस्थित हुन भनिएको छ ।
अदालत द्वारा जारी गरिएको सूचनामा लेखिएको छ, ‘यस अदालतमा दर्ता हुन आएका तपसिल बमोजिमका मुद्दाहरूमा देहायका व्यक्तिहरूको नाउँमा पक्राउ पूर्जीसहितको म्याद सूचना जारी गरिएकोमा घरद्वार पत्ता नलागेकोले यस अदालतका आदेशानुसार मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ५८ को उपदफा १३ बमोजिम यो सूचना प्रकाशित गरिएको छ । यो म्याद सूचना प्रकाशित भएको मितिले बाटाका म्याद बाहेक ३५ (पैँतीस) दिनभित्र आफ्नो सबुद प्रमाण लिई हाजिर हुन आउनुहोला, म्यादभित्र हाजिर हुन नआएमा कानुनबमोजिम हुनेछ।’