काठमाडौं – स्वास्थ्य सामग्री खरिद प्रकरणमा अख्तियारको दुरुपयोग गर्ने सरकारी अधिकारीलाई कारबाही गर्न प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग लाई निर्देशन दिएको छ ।
स्वास्थ्य सामग्री खरिद प्रक्रिया अघि बढाउँदा बिभिन्न कारण देखाई सार्वजनिक खरिद ऐन र नियमावली विपरीत अधिकार प्रयोग गरेको पाइएको भन्दै समितिले खरिदमा संलग्न पदाधिकारी माथी छानबिन गरी दोषीलाई कारबाही गर्न निर्देशन दिएको हो ।
सार्वजनिक लेखा समितिको ३ पुसमा बसेको बैठकले गत वर्ष चैतमा ओम्नी बिजनेस कर्पोरेसनसँग गरेको स्वास्थ्य सामग्री खरिद नियमसंगत नभएको ठहर गरेको थियो । सोही दिन समितिले यो प्रकरणमा विस्तृत छानविन गरी कारबाही गर्न अख्तियारलाई पत्र पठाउने निर्णय गरेको थियो ।
साथै स्वास्थ्य सामग्री खरिद प्रकरणमा अख्तियारलाई पत्र लेख्नुअघि सार्वजनिक लेखा समितिले आफैँले अध्ययन गरेको थियो । तत्कालिन स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र खरिद कार्यमा संलग्न अन्य पदाधिकारीहरुलाई समेत बोलाएर समितिले छलफल गरेको थियो ।