बर्दिया – हिजो फेरी एक जना ब्यक्तीको बाघको आक्रमणबाट मृत्यु भएको छ ।
हिजो आइतबार बर्दिया राष्ट्रिय निकुञ्जमा गैँडा गणनाका लागि खटिएका ३१ बर्षका पुलिसराम थारुको बाघको आक्रमणबाट मृत्यु भएको जानकारी रहेको छ।
जानकारी अनुशार विगत चार वर्षदेखि निकुञ्जको हात्तीसारमा कार्यरत ३१ वर्षीय माउते चौधरीलाई साँझ ५ ३० बजेतिर बाघले आक्रमण गरेको थियो । निकुञ्जभित्रको गैँडा मचान क्षेत्रमा गणना गरेर टोली बिश्राम गर्ने अवस्थामा रहेका बेला एक्कासि देखिएको बाघले गैँडा गणनामा प्रयोग गरिएको हात्ती र माउते चौधरीमाथि आक्रमण गरेको थियो । आक्रमणमा परेका चौधरीलाई केही मिटर परसम्म बाघले लछारेर लगेको थियो ।उनी केही दिन देखि गैँडा गणनामा खटिएका थिए ।
उनको मृत्युलाई लिएर वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले गहिरो दुःख व्यक्त गर्नुका साथै समवेदनासमेत प्रकट गरेका छन। मृतकका घरपरिवारलाई मन्त्रालयका तर्फबाट न्यायोचित क्षतिपूर्तिको समेत व्यवस्था गरिने जानकारी रहेको छ ।