बीबीसी – ब्रिटेनकी महारानी एलिजाबेथका श्रीमान राजकुमार फिलिपको ९९ वर्षको उमेरमा निधन भएको बकिंघम राजदरबारले जनाएको छ।महारानीप्रति उनले देखाएको सुदृढ र निरन्तर समर्थनका कारण ड्यूक अफ एडिन्बरा प्रिन्स फिलिपले ६० वर्षभन्दा बढी समयदेखि व्यापक सम्मान पाएका थिए।
उनले वहन गरेको भूमिका जोकसैको निम्ति पनि कठिन किसिमको थियो। अझ विविध विषयमा आफ्नो कडा धारणा राख्ने नौसेनाका अधिकृतका लागि त यो झनै कठिन थियो। तर व्यक्तित्वको सोही सबल पक्षले उनलाई आफ्ना जिम्मेदारीहरू प्रभावकारी ढङ्गले निर्वाह गर्न सहयोग गर्यो। साथै आफ्नी पत्नीलाई रानीको कर्तव्य पूरा गर्न सम्पूर्ण सहयोग गर्न उनले सके।
महारानीका पतिको रूपमा उनलाई कुनै पनि संवैधानिक हैसियत प्राप्त थिएन। तर राजसंस्थाको नजिक उनीभन्दा धेरै अरू कोही थिएन र उनी जति महत्त्वपूर्ण रानीका लागि अरू कोही थिएन। प्रिन्स फिलिपको जन्म सन् १९२१ को जुन १० मा ग्रीसको कोर्फु द्वीपमा भएको थियो। उनको जन्म ग्रीसको राजपरिवारमा भएको थियो। सन् १९२२ मा भएको सत्तापलटपछि उनका पितालाई एउटा क्रान्तिकारी अदालतले ग्रीसबाट निष्काशन गरिदियो।
त्यसपछि उनी आफन्तहरूका साथ इङ्ग्ल्यान्ड पुगे र सरीस्थित प्राथमिक विद्यालयमा भर्ना भए। पछि उनी स्कटल्यान्डको गोर्डन्स्टन स्कूलमा पुगे। आत्मनिर्भरतामा जोड दिने गोर्डन्स्टनको सादा शैली, आमाबुवाबाट छुट्टिएका ती किशोरका निम्ति एकदमै उपयुक्त थियो। दोस्रो विश्व युद्धको सँघारमा फिलिपले सैन्य सेवामा प्रवेश गर्ने निधो गरे।
उनले रोयल न्याभीमा जागिर थाले। त्यसैताका सन् १९३९ मा उनको त्यस बखतकी राजकुमारी एलिजाबेथसँग पहिलो महत्त्वपूर्ण भेट भयो। लन्डनस्थित वेस्टमिन्स्टर एबीमा सन् १९४७ नोभेम्बर २० का दिन उनीहरूको विवाह भयो। सो घटनालाई विन्स्टन चर्चिलले युद्धपछिको कठिन समयमा ब्रिटेनमा देखिएको एुटा रङ्गीन चमकको रूपमा उल्लेख गरेका थिए।
सन् १९५२ को फेब्रुअरीमा फिलिप र एलिजाबेथ केन्या भ्रमणमा रहेको बेला ब्रिटेनका राजा जोर्ज छैटौँको निधन भयो। आफ्नी पत्नीलाई अब तिमी रानी भयौ भन्ने समाचार सुनाउने जिम्मा प्रिन्स फिलिपकै थियो। उनका एकजना मित्रले पछि बताएअनुसार त्यतिखेर फिलिपले आधी संसार आफ्नै थाप्लोमा आईपरेको जस्तो अनुहार लगाएका थिए।
यसरी सन् १९२१ मा ग्रीसको राजपरिवारमा जन्मिएका फिलिप दोस्रो विश्वयुद्धपश्चात् ब्रिटेनको राजपरिवारका केन्द्रीय व्यक्ति बन्न पुगे। आफ्नो राज्याभिषेकलगत्तै रानीद्वारा जारी गरिएको घोषणामा उनलाई रानीपछिको दोस्रो हैसियत प्रदान गरियो। फिलिपले रानीलाई सदा उनको कार्यमा सघाउ पुर्याए। तर उनका आफ्नै रुचिहरू पनि थिए। उनले थुप्रै परोपकारी कार्यको अभियान चलाए।
उनको विशेष रुचि युवाहरूको कल्याण तथा वन्यजन्तु र प्रकृति संरक्षणमा थियो। साथै आफूलाई लागेको कुरा स्पष्ट बोल्ने व्यक्तिको रूपमा उनको परिचय स्थापित भयो। त्यसो गर्दा उनलाई कतिपय अवसरमा अप्ठेरो पनि आईपर्यो। सन् १९८६ मा शाही भ्रमणका बेला चीनमा भएको एुटा घटना सोही सन्दर्भमा निकै चर्चित रह्यो। त्यहाँ बसेका ब्रिटिश विद्यार्थीहरूसँगको अन्तर्क्रियामा उनले लामो समय चीनमा बसे उनीहरूको पनि आँखा ‘चिम्सो’ हुने बताएका थिए।
उक्त टिप्पणीलाई लिएर चीनमा धेरै चासो नजनाइे पनि ब्रिटिश ट्याब्लोइड पत्रिकाहरूले त्यसबारे निकै चर्चा गरे। फिलिप प्रतिबद्ध र आत्मनिर्भर व्यक्ति थिए। उनले आफूलाई ब्रिटिश समाजको केन्द्रमा पाए। एक पटक बीबीसीसँग बोल्ने क्रममा उनले भनेका थिए, “मैले केवल मैले सकेजति राम्रो गरेको छु। तपाईँ के गर्न सक्नुहुन्छ? मेरो शैली म अचानक परिवर्तन गर्न सक्दिनँ।”
दशकौँसम्म रानीको समर्थनमा तथा अन्य परोपकारी संस्थाका निम्ति विभिन्न कार्यक्रमहरूमा भाग लिएका प्रिन्स फिलिपले सन् २०१७ को अगस्टमा सार्वजनिक जीवनबाट अवकाश लिएका थिए। बकिङ्गम प्यालेसका अनुसार सन् १९५२ देखि त्यतिन्जेलसम्म उनी झन्डै २२,००० त्यस्ता कार्यक्रममा सहभागी भएका थिए। प्रधानमन्त्री टरिजा मेले उनले सार्वजनिक सेवामा पुर्याएको योगदानप्रति आभार व्यक्त गरेकी थीईन।
आफ्नो पदको प्रयोग गरी ब्रिटिश जीवनमा योगदान दिन फिलिप सफल रहे। राजसंस्थालाई बदलिँदो सामाजिक भावना बुझ्न उनले सहयोग पुर्याए। प्रिन्स फिलिपको सबैभन्दा ठूलो उपलब्धि चाहिँ लामो शासनकालमा उनले रानीलाई निरन्तर दिएको सुदृढ समर्थन र सहयोग नै हो।