विश्वासको मतमा मतदान आज

Breaking News समाचार
शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि आह्वान गरिएको संसदको विशेष अधिवेशनको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने छ । सुरुमा शीर्ष नेताहरुले मात्र सम्बोधन गरेर विश्वासको मतमा आजै मतदान गर्ने तयारी छ। कोरोनाबाट संक्रमित सदस्यहरुले पनि मतदान गर्न पाउने गरी विशेष व्यवस्था गरिएको संसद सचिवालयले जनाएको छ ।

आइतबार बसेको कार्यव्यवस्था परामर्श समिति बैठकले सङ्क्रमित सांसदहरूलाई स्वास्थ्य मापदण्डसहित मतदानको व्यवस्था गर्ने निर्णय गरेको हो । सङ्घीय संसद् भवनको ल्होत्से हलमा उनीहरूका लागि मतदानको व्यवस्था गरिने छ । हालसम्म २८ सांसद सङ्क्रमित भएको विवरण संसद् सचिवालयले प्राप्त गरेको छ ।

अधिवेशन विश्वास मतको प्रयोजनका लागि बोलाइेकाले अधिवेशनमा अन्य कुनै पनि बिजनेस अगाडि बढ्ने छैन । सोमबारको बैठकमा यसाघिको घोषणाअनुसार प्रधानमन्त्री ओलीले आफ्नो वक्तव्यसहित विश्वासको मत मागनेछन । प्रधानमन्त्रीले राखेको प्रस्तावमा छलफलका लागि समय निर्धारण हुनेछ । तोकिएको अवधिको छलफलका क्रममा उठेका प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिनेछन।

प्रधानमन्त्रीको जवाफपछि प्रस्तावौपर निर्णय प्रक्रिया प्रारम्भ हुनेछ । विश्वास मतको प्रस्तावलाई निर्णयार्थ पेस गर्दा मत विभाजन हुनेछ । सदस्यहरूले हस्ताक्षरसहित मत विभाजनमा सहभागी हुन पाउने छन । संवैधानिक व्यवस्थाअनुसार विश्वास मतको मत विभाजनमा तत्काल कायम रहेको सङ्ख्या गणना हुनेछ ।

अहिलेको दलहरुको गठबन्धन हेर्दा प्रधानमन्त्री ओलीले विश्वासको मत प्राप्त गर्न सक्दैनन । प्रधानमन्त्री ओलीको दल नेकपा एमालेका १२१ सांसद छन् । विश्वासको मत पाउन १३६ मत चाहिन्छ । ६१ सांसद भएको प्रमुख विपक्षी नेपाली कांग्रेसले विपक्षमा मत दिने निर्णय गरेको छ। ४९ सांसद भएको माओवादी केन्द्रले पनि हालै मात्र समर्थन फिर्ता लिएकाले प्रधानमन्त्रीलाई मत दिने छैन।

संसदको अंकगणितमा निर्णायक ३२ सांसद भएको जसपा थियो । जसपाको बाबुराम भट्टराई–उपेन्द्र यादव पक्षले यसअघि नै ओलीको विपक्षमा उभिने बताएको छ । महन्थ ठाकुर–राजेन्द्र महतो पक्ष ओलीप्रति लचक भए पनि जसपाले ह्वीप जारी नगरेर आफ्ना सांसदहरुलाई स्वतन्त्र छाडिदिएको छ । एमालेले ह्वीप जारी गर्दै आफ्ना सबै सांसदलाई विश्वासको मतको पक्षमा मतदान गर्न भनेको छ । यद्यपि एमालेकै माधव नेपाल–झलनाथ खनाल पक्षसमेत ओलीको विपक्षमा छ ।


शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *