कोरोनाविरुद्धको खोप आमा र शिशु दुवैका लागि हितकर

समाचार स्वास्थ्य
शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ – स्तनपान गराइरहनुभएका आमाले कोरोनाविरुद्धको खोप लिएको खण्डमा शिशु पनि सुरक्षित हुन्छ भनेर कमैलाई थाहा होला । साताभर विश्व स्तनपान दिवस मनाइरहँदा सुत्केरी र स्तनपान गराइरहनुभएका आमाले कोरोनाविरुद्धको खोप लिनुहँुदैन भन्ने अन्धविश्वास छाडेरे सबैले खोप लिनुपर्ने विज्ञहरू बताउनुहुन्छ ।

स्त्रीरोग विशेषज्ञ भागीरथी कायस्थ भन्नुहुन्छ, ‘‘नेपालमा मात्र नभएर कोरोनाविरुद्धको खोप विश्वका अन्य मुलुकमा पनि गर्भवती र सुत्केरीलाई खोप नलगाउने सूचीमा समावेश गरिएको थियो । स्वास्थ्य संवेदनशीलताका आधारमा सबैभन्दा पहिले खोप लगाउनुपर्ने यो वर्गलाई परीक्षण अभावका कारण सुरुमा खोप लगाउने सूचीमा समावेश गरिएको थिएन ।’’

उहाँले थप्नुभयो, ‘‘अहिले विश्वका कतिपय देशले यो समूहलाई पनि खोप अभियानमा समावेश गर्न थालेका छन् । नेपालमा पनि स्त्री तथा प्रसूतिरोग विशेषज्ञले प्राथमिकता दिएर खोप दिनुपर्ने जोड दिँदै आउनुभएको छ ।’’

सुत्केरी, गर्भवती वा स्तनपान गराइरहनुभएकालाई कुनै असर नगर्ने र बच्चालाई समेत यसले समस्या गराउँदैन भन्ने प्रमाणित भैसकेको उहाँले दाबी गर्नुभयो । अमेरिकालगायत देशले पनि सुत्केरी र गर्भवतीलाई यो खोप दिन थालिसकेको छ । डा। कायस्थले भन्नुभयो, ‘‘अहिले परीक्षणबाट कोरोनाविरुद्धको खोपले कुनै असर गर्दैन र प्रभावकारी छ भन्ने पुष्टि भैसकेको छ ।’’ त्यसैले गर्भवती, सुत्केरीले वा स्तनपान गराइरहनुभएको महिलाले खोप लगाउन मिल्छ, अझ सरकारले यो समूहलाई प्राथमिकतामा राखेर खोप दिनुपर्ने उहाँको भनाइ छ ।

कान्ति बाल अस्पतालका नर्स अकी शर्माले पनि स्तनपान गराइरहनुभएका महिलाले कोरोनाविरुद्धको खोप लिन आवश्यक पर्ने जानकारी दिनुभयो । विभिन्न अध्ययनका अनुसार स्तनपान गराइरहनुभएका आमाले खोप लिएको खण्डमा आमाको स्तनपानमा एन्टिबडी निर्माण हुने भएका कारण शिशु सुरक्षित हुने देखाएको उहाँले बताउनुभयो ।

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका निर्देशक डा. सङ्गीता कौशल मिश्राले गर्भवती र सुत्केरीलाई प्राथमिकतामा राखेर खोप लगाउनुपर्नेमा जोड दिनुहुन्छ । गर्भवती र सुत्केरीलाई कोभिड भएमा सामान्य मान्छेमा भन्दा बढी समस्या हुने बताइेको छ । उहाँ भन्नुहुन्छ, ‘‘कोभिडमा निमोनिया भयो भने त झनै यसले जटिल अवस्था निम्त्याउँछ । जसकारण आमा र पेटमा भएको शिशुको पनि मृत्यु हुन सक्छ । त्यसैले खोप लगाउन जरुरी छ ।’’

गर्भवतीले लगाएको खोपले पेटमा रहेको बच्चालाई असर गर्छ कि गर्दैन भन्ने धेरैलाई अन्योल अझै पनि छ । डा.मिश्रा थप्नुहुन्छ, ‘‘गर्भवतीले कोभिड खोप लगाउँदा पेटमा रहेको बच्चालाई यसले केही पनि असर गर्दैन, लगाउन झन् राम्रो हुन्छ ।’’

यो समचार आजको गोरखापत्र दैनिकमा छ।


शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *