खार्तुम – सुडानको सेनाले गैरसैनिक सरकार विघटन गर्दै राजनीतिक नेताहरूलाई गिरफ्तार गरी सङ्कटकालको घोषणा गरेको छ।
गैरसैनिक नेताहरूसँग संयुक्त परिषद्को नेतृत्व गरेका सैनिक जनरल अब्देल फतह बुर्हानले राजनीतिक झैझगडालाई दोष दिएका छन्।
आन्दोलनकारीहरू सडकमा ओर्लिएको राजधानी खार्तुममा गोली चलेको आवाज सुनिएका विवरण आएका छन्।
लामो समय सुडानमा शासन गरेका ओमार अल-बशिरको सरकार अपदस्थ भएर दुई वर्षअघि सङ्क्रमणकालीन सरकार बनेपछि त्यहाँ सेना र गैरसैनिक नेताहरूबीच द्वन्द्व चर्किएको छ।
आर्थिक सङ्कटबाट गुज्रिरहेको देशमा जारी अन्तर्राष्ट्रिय सहयोगहरू सैन्य शासनपछि जोखिममा पर्ने ठानिएको छ।
उत्तरी अफ्रिकी देशको राजधानीबाट सोमवार देखिएका भिडिओहरूमा प्रदर्शनकारीहरू सैनिक मुख्यालय नजिकको क्षेत्रमा प्रवेश गरेको देखिन्छ।
एकजना प्रदर्शनकारीले एएफपी समाचार संस्थासँग “देशको प्रजातान्त्रिक रूपान्तरणका लागि ज्यान दिन पनि तयार रहेको” बताएका छन्।
प्रधानमन्त्री अब्दुल्ला हमदुकसहित मन्त्रिपरिषद्का अन्य सदस्यलाई गैरसैनिक नेताहरूसँगै नजरबन्दमा राखिएको बताइएको छ।
सूचना मन्त्रालयको फेसबुकमा राखिएको एउटा विज्ञप्तिमा पक्राउ परेकाहरूलाई अज्ञात स्थलमा राखिएको उल्लेख छ।
हमदुकलाई सैन्य कूका लागि दबाव दिइएको तर उनले त्यसलाई अस्वीकार गर्दै जनताहरूलाई शान्तिपूर्ण क्रान्तिका लागि आह्रान गरेको बताइएको छ।
सैनिक जनरल बुर्हानले सेना र नागरिक नेताहरूबीचको शक्ति बाँडफाँट अन्तर्गत गठित सार्वभौम परिषद्को नेतृत्व गरिरहेका छन्।
टेलिभिजनबाट प्रसारित एउटा सन्देशमा उनले राजनीतिक नेताहरूले कलह गरेको, महत्त्वाकाङ्क्षा राखेको र हिंसालाई उक्साएको आरोप लगाउँदै आफू देशको रक्षा र क्रान्तिलाई सही दिशा दिन अघि सर्न बाध्य भएको बताए।
उनले सुडान अन्तर्राष्ट्रिय सम्झौतामा प्रतिबद्ध रहेको र सन् २०२३ मा तय गरिएको निर्वाचनबाट गैरसैनिक सत्ता हस्तान्तरणका लागि तयार रहेको बताएका छन्।
तर सैन्य कूको निन्दा गर्न हजारौँ प्रदर्शनकारी राजधानी खार्तुमको सडकमा निस्केका छन्। उनीहरूले “सैन्य शासन चाहिँदैन” भन्ने नारा लगाए।
“हामी नागरिक सरकारको पुनर्बहाली र सङ्क्रमणकालीन व्यवस्था फिर्ता नभएसम्म यो सडक छोड्नेवाला छैनौँ,” प्रदर्शनमा सहभागी सावसन बशिरले एएफपीसँग भने।
प्रत्यक्षदर्शीहरूका अनुसार इन्टरनेट बन्द गरिएको छ र सेनाका अर्धसैन्य टुकडीहरू सहरभरि परिचालन गरिएका छन्। खार्तुम विमानस्थल बन्द भएपछि अन्तर्राष्ट्रिय उडानहरू स्थगित भएका छन्।
सुडानमा सैन्य कदमको अन्तर्राष्ट्रियस्तरमा निन्दा भएको छ। सुडान र साउथ सुडानका लागि युकेका विशेष दूत रोबर्ट फेयरवेदरले ट्वीट गर्दै नागरिक नेताहरूको पक्राउ सुडानको क्रान्ति, सङ्क्रमण र सुडानी जनताका लागि भएको बताए।
अमेरिका संयुक्त राष्ट्रसङ्घ र अरब लीगले पनि यसबारे गम्भीर चिन्ता व्यक्त गरेका छन्।बीबीसी
Video Source : The Telegraph