काठमाडौ – प्रधानमन्त्री शेरबहादुर देउवाले अदालतको परमादेशले संविधान र लोकतन्त्र बचाएको बताएका छन । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको ६८ औँ स्थापना दिवसका अवसरमा नेपाल तरुण दल केन्द्रीय कार्यसमितिले आज यहाँ आयोजना गरेको कार्यक्रममा कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले अदालतको परमादेशले संसद्, संविधान र लोकतन्त्र बचाएको बताएका हुन ।
“केपी शर्मा ओलीलाई संसद् भङ्ग गर्ने अधिकार संविधानले दिएको थिएन, संविधानले नदिएको अधिकारलाई दुईदुईपटक प्रयोग गर्दा सर्वोच्च अदालतले संविधान बचाएको हो,” उहाँले भन्नुभयो । पाँच दलको गठबन्धनबाट बनेको सरकारसँग स्पष्ट बहुमत रहेकाले जनादेश छैन भन्नुको कुनै अर्थ नरहेको प्रधानमन्त्री देउवाले बताए।
प्रधानमन्त्री देउवाले प्रधानन्यायाधीश र अदालतका बारेमा सरकार र आफ्नो पार्टीले केही नबोल्ने बताए । उनले भने, “यो अदालतभित्रको कुरा हो, उसैले यसको समाधान निकाल्न सक्छ ।” उनले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीबाट भर्खरै राजीनामा दिएका गजेन्द्र हमाल कांग्रेसकै नेता भएको समेत स्पष्ट पारे । प्रधानमन्त्री देउवाले पार्टीको १४ौँ महाधिवेशनलाई सफल बनाउन तरुण युवाको महत्वपूर्ण भूमिका रहेको बताए ।
सो अवसरमा नेपालको लोकतान्त्रिक आन्दोलनमा अनवरत योगदान गर्दै देशलाई सक्षम नेतृत्व दिनुभएका युवाका प्रेरणाका स्रोत प्रधानमन्त्री तथा पार्टी सभापति देउवालाई तरुण दलका अध्यक्ष जीतजङ्ग बस्नेतले अभिनन्दन पत्र प्रदान गरेका थिए । कार्यक्रममा तरुण दलका पूर्वाध्यक्ष एवं गृहमन्त्री बालकृष्ण खाँणले पार्टीलाई सबल, सुढृढ र सफल बनाउन तरुण युवाको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे । “कांग्रेसको महत्वपूर्ण खम्बा भनेको तरुण हो, पार्टी बलियो बनाउन तरुण, युवाहरु एकजुट र बलियो हुनुपर्छ,” उनले भने ।
गृहमन्त्री खाँणले लोकतन्त्र र संविधानको रक्षा गर्नका लागि वर्तमान गठबन्धनको सरकार निर्माण भएको बताउँदै यसलाई सफल बनाउन तरुण युवाको उत्तिकै भूमिका रहेको स्पष्ट पारे । कांग्रेसले आफ्ना पार्टीका नेतालाई आलोचना गर्ने परिपाटीको अन्त्य भएमात्र पार्टीले आगामी निर्वाचनमा विजय हासिल गर्न सक्ने बताए।
कार्यक्रममा खानेपानी तथा सरसफाइमन्त्री उमाकान्त चौधरीले लोकतन्त्रको रक्षा तथा पार्टीको विचारलाई संस्थागत गर्न र पार्टीले दिएको जिम्मेवारी पूरा गर्न तरुण युवाह लाग्नुपर्ने बताए । उनले तरुण दलले पूर्णता नपाएकामा चिन्ता व्यक्त गर्दै हाम्रो र राम्रो कांग्रेस निर्माणका लागि युवाहरु एकजुट हुन आग्रह गरे । युवाहरु देशको भविष्य र सम्पत्ति भएकाले यसलाई सही ढङ्गले परिचालन गर्नुपर्ने उनको भनाइ थियो ।
तरुण दलका पूर्वाध्यक्ष एवम् पूर्वमन्त्री महेन्द्र यादवले पार्टीलाई बलियो बनाउन तरुण दल एकजुट र क्रियाशील हुनुपर्नेमा जोड दिँदै आगामी निर्वाचनमा कांग्रेसलाई बहुमत दिलाउन तरुण युवाको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । तरुण दलका अध्यक्ष जीतजङ्ग बस्नेतले पार्टीलाई बलियो बनाउन र अन्याय, विकृति र विसङ्गतिकाविरुद्ध सधैँ तरुण दल खरो भएर उभिने बताए ।
कार्यक्रममा गृहमन्त्री खाँण र खानेपानी तथा सरसफाइमन्त्री चौधरीलाई सम्मानपत्रद्वारा सम्मान गरिएको थियो । यस्तै दलका पूर्वाध्यक्ष यादव, विनोदप्रकाश कायस्थ, उदयशमशेर राणालाई समेत दोसल्ला ओढाएर सम्मान गरिएको थियो । तरुण दलको गीत रचना गर्नुभएका सञ्चारकर्मी एवम् साहित्यकार डा नवराज लम्साललाई समेत कार्यक्रममा सम्मान गरिएको थियो ।
कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको सक्रियतामा विसं २०१० कात्तिक १० मा स्थापना भएको नेपाल तरुण दल विसं २०१७ पुस १ मा राजा महेन्द्रले प्रथम जननिर्वाचित प्रधानमन्त्री कोइरालालाई पक्राउ गरेसँगै निष्क्रिय अवस्थामा रहेको थियो । पुनः विसं २०५४ मा तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले तरुण दलको पुनस्र्थापना गरेपछि तरुण दलले आफ्नो सङ्गठनलाई विस्तार गर्दै आएको छ।रासस