एजेन्सि – टी २० विश्वकप क्रिकेटमा पाकिस्तानले भारतलाई हराएपछि हर्षोल्लास गरेको आरोप लागेका तीन कश्मीरी विद्यार्थीलाई भारतको उत्तर प्रदेश राज्यमा पक्राउ गरिएको छ।
प्रहरीका अनुसार आइतवार खेल भैरहँदा उनीहरूले भारतको विरोध गर्दै पाकिस्तानको समर्थनमा नाराबाजी गरेका थिए। उनीहरूविरुद्ध “शत्रुतालाई प्रोत्साहन गरेको तथा साइबर आतङ्कवाद” को अभियोग लगाइेको छ।
ह्वाट्सएपमा पाकिस्तानी क्रिकेट खेलाडीको प्रशंसा गर्दै लेखेको भन्दै आगरामा पक्राउ परेका तीन कश्मीरी मुस्लिम विद्यार्थीलाई उनीहरू पढ्ने कलेजले सोमवार निलम्बन गरेको छ। सत्तारूढ भारतीय जनता पार्टीका सदस्यहरूले उजुरी हालेपछि तीन जनालाई प्रहरीले बुधवार पक्राउ गरेको हो।
आगरा सहरमा गरिएको उक्त कारबाहीलाई मुस्लिम समुदायविरुद्धको दमनका रूपमा लीएको छ। आलोचकहरूका अनुसार भारतले खेल हार्दा धेरै भारतीय नागरिकले खेलभावना बिर्सिने गरेका छन् र उनीहरू अरूमा दोष खोज्छन्। खेल सम्पन्न भएपछि भारतीय क्रिकेट टोलीमा अहिले समाविष्ट एक मात्र मुस्लिम खेलाडी मोहम्मद शामीको धेरै जनाले सामाजिक सञ्जालमा मानमर्दन गरेका थिए। मानिसहरूले शामीले जानीजानी पाकिस्तानलाई रन बनाउन दिएको आरोप लगाउँदै उनलाई “देशद्रोही” को सङ्ज्ञा दिए।