विराटनगर – प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आज बस्ने प्रदेशसभाको बैठकबाट विश्वासको मत लिैदैछन् । साढे १२ बजे बस्ने बैठकमा मुख्यमन्त्रीले पेस गरेको विश्वासको मत सम्बन्धी प्रस्तावमाथि छलफलपछि आजै मत विभाजन गर्ने कार्यसूची रहेको छ ।
कात्तिक ७ गते विश्वासको मत सम्बन्धी प्रस्तावमा मत विभाजन गर्ने कार्यसूचि रहेकोमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र सत्तारुढ दल नेकपा एमालेले बैठक स्थगित गर्न निवेदन दिएका कारण प्रदेशसभा बैठक एकसाता पर सरेको थियो । आजको बैठक भने स्थगित हुने सम्भावना न्यून रहेको बताइेको छ । विपक्षी गठबन्धनमा आवद्ध रहेका सबै दलहरुको अैतबार बसेको बैठकले मुख्यमन्त्रीको प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।
यस्तै विपक्षी दलहरुबीच मुख्यमन्त्रीमा कसलाई अघिसार्ने भन्ने विवाद पनि सहमतिबाट टुंगिएका कारण मुख्यमन्त्रीको प्रस्तावको अन्तिम टुंगो हुने अनुमान गरिएको छ । विपक्षी गठबन्धनको आइतबार बसेको बैठकले नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राईलाई मुख्यमन्त्रीको रुपमा अगाडि सार्ने निर्णय गरेको छ ।
हाल कायम ९२ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा नेकपा एमालेसँग ४० सांसद हुनुहुन्छ । परिस्थितिमा फेरबदल नभए अहिलेसम्म सभामुख र एक जना फरार अभियुक्त रहेकोले मुख्यमन्त्री आचार्यको पक्षमा ३९ मत मात्र प्राप्त हुने अवस्था छ । प्रदेशसभामा बहुमतका लगि ४७ सांसदको समर्थन आवश्यक पर्छ । विपक्षी गठबन्धनसँग ५० जना सांसद आवद्ध छन् । गठबन्धनमा आवद्ध नेपाली काँग्रेससँग २१, माओवादी केन्द्रसँग १५, नेकपा एकीकृत समाजवादीसँग १०, जसपासँग ३ र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चसँग एक जना सांसद छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका एक जना सांसद अहिलेसम्म कुनैपनि पक्षमा नखुलेको बताइेको छ ।